टोटेनह्यामले जोड्यो तीन अंक



लन्डन, (एजेन्सी) ।

इन्ज्युरी समयमा डाभिन्सन सान्चेजले गोल गरेपछि टोटेनह्याम हटस्परले जितको नतिजा निकाल्दै तीन अंक जोडेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिवार राति भएको खेलमा टोटेनह्यामले घरेलु टोली वाट्फोर्डलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको शुरुआतदेखि नै बल पोसेसन राख्दै वाट्फोर्डमाथि दबाब बढाएपनि टोटेनह्यामले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । गोलका लागि टोटेनह्यामले इन्ज्युरी समय कुर्नुपरेको थियो । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा डाभिन्सन सान्चेजले गोल गर्दै टोटेनह्यामलाई महत्वपूर्ण जित दिलाए । यो जितसँगै टोटेनह्यामले १८ खेलबाट ३३ अंक जोडेको छ । पराजित वाट्फोर्डको १३ अंक छ ।

शनिबारै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले आर्सेनलमाथि पुनरागमन जित निकाल्यो । सिटीले एक गोलले पछि परेको अवस्थामा १० खेलाडीमा समेटिएको घरेलु टोली आर्सेनलमाथि २–१ को पुनरागमन जित दर्ता गरेको हो । इन्ज्युरी समयमा रोड्रीले गोल गरेपछि सिटीको जित सम्भव भएको हो । इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा सिटीका लागि रियाद महारेजले एक गोल थप्दा घरेलु टोली आर्सेनलका बुकायो साकाको गोल सान्त्वना बन्यो ।

खेलको ३१औं मिनेटमा बुकायो साकाको गोलबाट आर्सेनलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । तर, दोस्रो हाफमा आर्सेनलले अग्रतालाई जोगाउन सकेन भने टोली पनि १० खेलाडीमा समेटिन पुग्यो । खेलको ५७औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ग्रानिट झाँकाले पेनाल्टी बक्समा बर्नाडो सिल्भालाई फाउल गरे पनि रेफ्रीले भीएआरको सहायता लिँदै सिटीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा महारेज चुकेनन् ।

खेलको ५९औं मिनेटमा आर्सेनल १० खेलाडीमा समेटिन पुग्यो । गाब्रियल दुई मिनेटको अन्तरमा दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दबाबमा परेको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई पुनरागमन जित दिलाए । पछिल्लो छैटांै खेलमा आर्सेनलको यो पहिलो हार हो । प्रिमियर लिगमा एभर्टनसँगको हारपछि आर्सेनलले लगातार पाँच जित निकालेको थियो । जितसँगै सिटीको २१ खेलबाट ५३ अंक पुगेको छ । पराजित आर्सेनलको २० खेलबाट ३५ अंक रहेको छ ।
शनिबारै भएको अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गर्यो । वेस्ट ह्यामको जितमा म्यानुयल लान्जिनीले दुई तथा मिचेल एन्टेनियोले एक गोल गरेका थिए । घरेलु टोलीका ओड्सोनी इडुआर्ड र माइकल ओलिसीले गोल गरे ।

प्रतिक्रिया दिनुहोस्