मनाङले थप ३ अंक जोड्यो



पोखरा ।

शहीद स्मारक ए डिभिजन लिगमा घरेलु टोली मनाङ मस्र्याङदी क्लबले बिग्रेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोल अन्तरले हराउँदै ३ अंक जोडेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा मनाङले अन्जन विष्टको निर्णायक गोलमा जित निकालेको हो । तर, टिमले सोचेअनुसारको जित भने निकाल्न सकेन ।

मनाङले बीबीसीको रणनीतिअनुसार नै मैदानमा उत्रिए पनि जितका लागि निकै संघर्ष गर्नुपर्यो । खेलभर मनाङलाई निकै दबाबमा राखेको बीबीसी पेनाल्टीमा चुक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलको १५औँ मिनेटमा बीबीसीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । मनाङका अदित्य चौधरीले शिशिर लेखीलार्ई डी एरियाभित्र लडाएपछि बीबीसीले गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेको थियो ।

पेनाल्टीका लागि शिशिर अघि बढेका थिए । उनको पेनाल्टी प्रहार आकासिँदा बीबीसी अग्रता लिनबाट मात्रै चुकेन लिगको रेलिगेसनमा पर्ने खतरालाई समेत अघि बढायो । बीबीसीलाई आगामी यात्रा निकै कठिन देखिएको छ । खेलको शुरुवातदेखि नै मनाङलाई दबाबमा राखेको बीबीसीले बारम्बार गरेको प्रहारलाई पोस्टको दिशा दिन सकेन । खेलको छैटौं मिनेटमा नै बीबीसीका भुवन बस्नेतको प्रहार बाहिरियो । २२औं मिनेटमा राजत तिवारीको प्रहारमा मनाङका गोलरक्षक अशोक बराल बाधक बने ।

३१औं मिनेटमा शिशिरको वानटच पासमा रुडे एमबाकोपको पोस्ट नजिकैको प्रहार बाहिरिँदा बीबीसी अग्रता लिनबाट चुक्यो । ३३औं मिनेटमा ओलावालेको प्रहारलाई बीबीसीका गोलरक्षक ग्रुप्रित सिंहले बचाउ गर्दै संकट टारे । कप्तान अञ्जन विष्टले मिलाइदिएको पासमा ओलावालेले टोलीलाई अग्रता दिलाउने अवसर पाएका थिए । ४१औं मिनेटमा कप्तान रोशन रानामगरको प्रहारमा गोलरक्षक बाधक बने । ४३ औं मिनेटमा ओलावालेले बल अघि बढाउँदै प्रहार गर्न खोजे पनि बीबीसीका गोलरक्षक सिंह चलाखीपूर्ण तरिकाले अघिबढ्दै बचाउ गरे ।

खेलको ४५औं मिनेटमा कप्तान अञ्जन विष्टले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । पुजनको फ्रिकिक प्रहारमा दिनेश राजवंशीले हेड गर्दा गोलरक्षकले बचाउ गर्दा रिबाउन्ड हुने क्रममा खेलाडीहरू अक्मकिँदा विष्टले उत्कृष्ट गोल गरेका हुन् । पहिलो हाफको अन्तिम समयमा गोल गर्दै अग्रता लिएको मनाङले दोस्रो हाफमा भने आक्रमक रणनीति अपनाएको थियो । मनाङले टोलीको रणनीति परिवर्तन गर्र्र्दै एक मिडफिल्ड र दुई फरवार्डलाई मैदान प्रवेश गराएको थियो ।

मनाङले दुई मिडफिल्डर दयानन्द सिंह र नीतिन थापालाई निकाल्दै फरवार्ड दीपक राई र मिडफिल्डर रुपेश केसीलाई मैदान प्रवेश गराएको थियो । मनाङले ६० मिनेटपश्चात् खेलमा ४ फरवार्डलाई खेलाएको थियो । तर बीबीसीले भने गोल गर्ने कुनै अवसर दिएन् । ६५ औं मिनेटमा शिशिरले प्रहार गरेको फ्रिकिक निकै आकासिँदा बराबरी गर्नबाट चुके । उनको अधिकांश प्रहार बाहिरिएको थियो । ८१औं मिनेटमा अञ्जन विष्टको हेडर क्रसबारमा लाग्दै बाहिरिँदा मनाङ अग्रता दोब्बर गर्नबाट चुक्यो । ८४औं मिनेटमा भुवन बस्नेतको भली प्रहार बारमा लाग्दै फर्किदा अर्को अवसर खेर गयो ।

उता जितबाट पनि मनाङ भने त्रासमै छ । लिगमा आइतबार मच्छिन्द्र र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । मनाङ शीर्षमा रहँदै एएफसी खेल्न चाहन्छ । उता मछिन्द्र पनि जित निकाल्दै एएफसी कप खेल्न चाहान्छ । आइतबारको खेल मछिन्द्रलाई पनि जित्नैपर्ने दबाब छ । मनाङको एएफसी खेल्ने वा नखेल्ने अब मच्छिन्द्र र पुलिसको खेलले निर्धारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्