थ्रीस्टारको जित



काठमाडौं ।

थ्री स्टार क्लबले जारी शहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणसम्म पुग्दा केवल दोस्रो जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा जावलाखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो । टिमलाई जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले गोल गरेका थिए । जावलाखेलका लागि भने निकोलस फर्नान्डेजले एक गोल फर्काएका थिए ।

ललितपुरको डर्बी खेलमा थ्री स्टारले पहिलो हाफमै २ गोलको अग्रता बनाएर जित सम्भव पारेको थियो । खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । २६औं मिनेटमा ऋतिकले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । जावलाखेलका निकोलसले ५५औं मिनेटमा एक गोल फर्काएपछि भने थ्रीस्टारलाई अग्रता जोगाउन निकै कसरत गर्नुपरेको थियो । योसँगै थ्रीस्टारको १० अंक भएको छ भने जावलाखेलको ७ अंक छ ।

संकटा र च्यासल बराबरीमा
यस्तै, शनिबार नै दशरथ रंगशालामा भएको खेलमा संकटा क्लब र च्यासल युथ क्लबले गोलरहित बराबरी खेलेका छन् । उक्त प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलको अवसर गुमाएपछि बराबरी खेल्न बाध्य भएको थियो । च्यासलले संकटाविरुद्ध चर्चित फरवार्ड सन्तोष साहुखललाई उतारेको थियो ।

उनी बिहीबार जापानबाट फर्केको दिनमै टोलीको प्रशिक्षणमा सामेल भएका थिए । ७५औं मिनेटमा निरज बस्नेतले गोलरक्षक प्रदीप भण्डारीलाई बिट गर्दै गरेको प्रहार सागर थापाले गोललाइनबाट क्लियर गर्दै च्यासलको संकट टारे । बराबरीसँगै संकटा ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा रहँदा दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । च्यासल ७ खेलबाट ५ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्