बनेपा मेयर भलिबल कपको उपाधि भलिबल प्रेमी काभ्रेले जित्यो



 मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए ।
नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल र प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले विजयी टिमलाई पुरस्कार वितरण गर्नु भएको थियो ।

बेस्ट अफ फाईभमा खेलाइएको प्रतियोगितामा भलिबल प्रेमी काभ्रे टिम र बनेपा नगरपालिकाको टिम दुई/दुई सेटमा बराबरी भएको थियो । अन्तिम १५ अङ्कको सेटमा भलिबल प्रेमी काभ्रेले बनेपा नगरपालिकाको टिमलाई १४ का विरुद्ध थप एक अङ्कको खेलमा १६ ल्याई विजयी भएको थियो ।

बनेपा नगरपालिकाको टिम उप विजेता बन्दै नगद २५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको थियो । तेस्रो खानि खोला गाउँपालिकाको टिम भएको छ भने चौथो पनौतीको दलिन्चोक युवा क्लव भएको थियो । तेश्रोले १५ हजार र चौथोले ७ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

बनेपा नगरपालिका वडाअध्यक्षहरु कृष्णप्रसाद दाहाल, बलराम अधिकारी, चन्द्र खड्का, रामबहादुर कुँवर, समाजसेवी रञ्नकुश रञ्जिकार, कर्मचारीहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले पुरस्कार वितरण गरेका थिए ।

लायकु क्लबका अध्यक्ष विक्रम प्रजापतीका अनुसार प्रतियोगितामा जिल्ला भित्रका मण्डनदेउपुर, धुलिखेल, खानि खोला, पनौती, नाला, बेथान्चोक लगायतका क्षेत्रबाट विभिन्न टिमको सहभागिता रहेको छ । लिग कम नक आउटका आधारमा खेलाइएको उक्त प्रतियोगितामा बनेपा नगरपालिकाले प्रशिक्षण दिएका युवा खेलाडीहरु समेत सहभागी थिए ।

बनेपा नगरपालिकाले भलिबल खेलका लागि प्रशिक्षण दिई खेलाडीहरु उत्पादन गरेको थियो । उत्पादित खेलाडी बनेपाको टिमबाट प्रतियोगितामा सहभागी भएका थिए ।

समापन कार्यक्रममा प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटाले खेलको विकासका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउँदै प्रशिक्षण हल, प्रशिक्षण र खेलाडीहरुको संरक्षणका लागि निरन्तर कार्य गरेको उहाँहरुले बताउनु भयो । कार्यक्रम लायकु क्लबका अध्यक्ष विक्रम प्रजापतिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्