उपाधि र रेलिगेसनको होड रोचक बन्दै



काठमाडौं ।

जारी ‘शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता’मा उपाधि र रेलिगेसनको होड बडो रोचक बन्दै गएको छ । १४ टिम सहभागिता भएको लिगको छैटो चरण खेल समाप्तिसम्म टिमहरूको अंक धेरै फरक छैन । उपाधि जित्ने सम्भावनामा चार टिम होडमा रहेका छन् । जसमा, मच्छिन्द्र, मनाङ मस्र्याङदी, संकटा र त्रिभुवन आर्मी क्लब रहेका छन् । यी चारै टिमको अंक धेरै फरक छैन ।

शीर्षस्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ भने एक अंक कम जोडेको मनाङ दोस्रो स्थानमा छ । संकटा १२ अंकसहित तेस्रो स्थानमा रहेको छ भने विभागीय टिम आर्मी १० अंक जोडेर चौथो स्थानमा डटेको छ । आर्मीले आजै शुक्रबार सातौं चरणमा आफ्नो खेल अर्को विभागीय टिम एपीएफ क्लबसँग खेल्दैछ । यो खेलमा जित्न सकेमा आर्मीले १३ अंक जोड्दै उपाधि होडलाई सकुशल राख्न सकिनेछ । यदि, पछिल्ला खेलमा झैं गोल गर्न नसकेमा आर्मीको उपाधि आस विस्तारै सकिँदै जानेछ ।

मनाङ र मच्छिन्द्रलाई मौका
तर, शनिबार र आइतबारका दुई खेल सबैभन्दा महत्वूर्ण हुनेछन् । शनिबारको खेल पोखरामा मनाङ र ब्रिगेड ब्वाइज क्लबबीच हुनेछ । आइतबार दशरथ रंगशालामा मच्छिन्द्रले नेपाल पुलिस क्लबसँग खेल्दै छ । आगामी एएफसी कप खेल्नका लागि यी दुई टिम मात्रै होडमा छन् । अघिल्लो चरणमा आर्मी बराबरीमा रोकिएपछि यो होडबाट आर्मी बाहिरिएको हो । मच्छिन्द्र र मनाङको लागि एएफसी कप खेल्ने मौका छ । तर, दुवै टिमको १ अंकको दूरी मात्रै भएको हुँदा मनाङको लागि दबाब सिर्जना हुनेछ ।

किनभने मनाङको खेल शनिबार नै भएको हुँदा जित्नै पर्ने दबाब बन्न सक्नेछ । यदि, यो खेलमा जित हात पारेमा मनाङको १६ अंक हुनेछ । यो नतिजापछि मच्छिन्द्रमाथि ठूलो दबाब पक्कै हुनेछ । मनाङले जितेपछि मच्छिन्द्रमाथि पुलिसलाई हराउनैपर्ने हुन्छ । तर, मनाङ बराबरीमा सीमित भएमा भने मच्छिन्द्रले पुलिससँग बराबरी खेले पनि एएफसी कपको लागि छनोट हुनेछ । मच्छिन्द्र गत संस्करणमा लिग विजेता बने पनि एएफसी लाइसेन्स प्राप्त नभएको हुँदा आर्मीले एएफसी कप खेलेको थियो ।

रेलिगेसनको रोचकता
छैटो चरणका खेल समाप्तिसम्म रेलिगेसनको रोचकता पनि बढ्दै गएको छ । फ्रेन्डस् ३ अंक र च्यासल ४ अंक जोडेर रेलिगेसन जोनमा रहेका छन् । फ्रेन्डस्ले आज ७ अंक बटुलेको टिम एनआरटीसँग खेल्दै छ । यो खेल जितेमा फ्रेन्डस्लाई राहत मिल्नेछ तर, हार वा बराबरीले फ्रेन्डस्लाई ‘ए’ डिभिजनमा रहिरहन कठिन हुनेछ ।

यस्तै, च्यासलको लागि पनि रेलिगेसन टार्न नै लिगको लक्ष्य बन्दै गएको छ । च्यासलले शनिबार सातौं चरणको खेलमा संकटासँग खेल्दैछ । संकटा जारी लिगकै सन्तुलित टिमको रूपमा उभिरहेको छ । संकटाले ६ खेल खेल्दा एक खेलमा पनि हार बेहोरेको छैन । संकटाले फ्रेन्डस्सँग १–० ले पिछिडिएको अवस्थालाई उल्ट्याउँदै जित हात पारेको थियो । यस्तै, मनाङलाई हराइसकेको अवस्थामा बराबरी नतिजा बेहोर्नुपरेको थियो । बलियो देखिएको संकटासँग अंक जोड्नु च्यासलको लागि ठूलै चुनौती हुनेछ ।

रेलिगेसनमाथिका पनि असुरक्षित
च्यासल र फ्रेन्डस् अहिले रेलिगेसन जोनमा छन् । तर, यो भन्दा माथिका टिम पनि असुरक्षित नै छन् । १२ औं स्थानको एपीएफ र ११ औं स्थानको ब्रिगेड ब्वाइजसँग ५–५ अंक रहेको छ । त्यस्तै, १० औं स्थानको पुलिससँग ६ अंक छ भने सातौंदेखि नवौं स्थानमा रहेका क्रमशः थ्रीस्टार, एनआरटी र जावलाखेलको समान ७ अंक रहेको छ ।

अंक दूरी कम भएको हुँदा कुनै पनि टिम रेलिगेसनबाट उम्किन सकिनेछ र कुनै पनि टिम रेलिगेसनमा पर्न सकिनेछ । नेपालका चर्चित फुटबलर अनिल गुरुङ ब्रिगेड ब्वाइजबाट खेलिरहेका छन् । अनिलले जारी लिगमा संकटाविरुद्ध छैटौं चरणको खेलमा पहिलोपटक खेले । उनी पनि जुनसुकै टिम रेलिगेसनमा पर्न सक्ने बताउँछन् ।

अनिलले बताए–‘टिमहरूको अंक धेरै दूरीमा छैन । यसले पनि एक दुई वटा जितको नतिजासँगै अगाडि रहेको टिमहरू पनि रेलिगेसनतिर जान सकिनेछ । कमसेकम १५ अंकसम्म बटुल्न सकेमा रेलिगेसनबाट सुरक्षित हुन सकिन्छ । नत्र, भने अहिलेसम्मको नतिजा हेर्दाचाहिं रेलिगेसनको छायाँमा मेरो टिम मात्रै होइन कि अरू टिम पनि रहेका छन् । तर, को बच्ने को नबच्ने यो त खेल हुँदै गएपछि थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्