सिटीको उपाधि यात्रा मजबुत



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले उपाधि यात्रालाई मजबुत बनाएको छ । बुधबार राति भएको खेलमा ब्रेन्टफर्डलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई ८ अंकले पछि पार्दै उपाधि यात्रालाई थप मजबुत बनाएको हो । सिटीको २० खेलबाट ५० अंक पुगेको छ ।

ब्रेन्टफर्ड कम्युनिटी स्टेडियममा सिटीको जितमा फिल फोडेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १६औं मिनेटमा केभिन डी ब्रुयनको पासमा गोल गरेका थिए । खेलको ८७औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरे पनि उनको गोलले मान्यता पाएन ।

जितसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीले वर्ष २०२१ लाई मा सुखदरूपमा बिदाइ गरेको छ । सन् २०२२ सुरु हुुनुअघि बुधबार राति ब्रेन्टफर्डलाई १–० ले पराजित गर्दै सिटीले सर्वाधिक जित, सर्वाधिक गोल र सर्वाधिक अवे जितको कीर्तिमान बनाएको हो । सिटीले एकै क्यालेन्डरमा ३६ जित, १ सय १३ गोल र १९ अवे जित निकालेको छ । यो कुनै पनि इंग्लिस क्लबले एकै क्यालेन्डरमा निकालेको उत्कृष्ट नतिजा हो ।

बुधबार राति नै भएको अर्को खेलमा इन्ज्युरी समयमा सम्हालिन नसक्दा लन्डन क्लब चेल्सी घरेलु मैदानमा ब्राइटनसँग बराबरीमा रोकियो । चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेलेको हो । बराबरीसँगै चेल्सीको ४२ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्