सलोनीलाई दोहोरो उपाधि



पोखरा ।

नेपाली महिला टेनिसमा शीर्ष वरीयता प्राप्त सलोनी तामाङले पोखरामा दोहोरो उपाधि हात पारेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा सोलोनीले महिला सिंगल र डबल्स गरी दुईवटा उपाधिमा कब्जा जमाएकी हुन् । बिहीबार भएको महिला सिंगलमा उनले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पार लगाइन् । त्यस्तै, महिला डबल्सतर्फ सलोनी र माहिका राणा जोडीले सुभांगी लक्ष्मी शाह र अभिलाषा विष्टको जोडीमाथि ६–१, ६–३ को नतिजा निकाल्दै उपाधि रक्षा गर्न सफल भए ।

प्रतियोगितामा मेन्स डबल्सतर्फको उपाधि अक्कि जुवेन रावत र आरब सम्राट हाडाको जोडीले जितेको छ । फाइनल खेलमा सो जोडीले प्ररण खनाल र जितेन्द्र परियारको जाडीलाई ७–६ र ६–१ को सेटमा पन्छाउँदै उपाधि जित्न सफल भएको हो ।

३५ वर्षमाथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रथम स्थान हासिल गरे । राजु क्षेत्री र सुदर्शन विष्ट जोडीसँगको अन्तिम भेटमा भण्डारी जोडीले ६–४ र ७–६ को नतिजा निकाल्दै अव्वल हुन सफल भए ।

५५ वर्ष माथिको एकलतर्फ कृष्णराज घलेलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्दै विमल गुरुङले उपाधि आफ्नो पोल्टामा पारे । प्रतियोगितामा ५५ वर्ष माथिको डबल्स स्पर्धामा नेपालका भेट्रान्स च्याम्पियन कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी प्रथम हुन सफल भयो । अत्यन्तै, प्रतिस्पर्धात्मक खेलमा थापा जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि २–६, ६–२ र ११–९ संघर्षपूर्ण जित दर्ता गरे । ६५ वर्ष माथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्