म्यानचेस्टर सिटीको सानदार जित



लन्डन, (एजेन्सी) ।

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जितको नतिजा निकालेको छ । गोलको वर्षा भएको खेलमा सिटीले लेस्टर सिटीलाई ६–३ को फराकिलो गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीको सानदार जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डी ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान एक गोल गरे । लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले समान एक गोल गरेपनि हार टार्न सकेन ।

घरेलु मैदानमा सिटीले खेलको शुरुवाती २५ मिनेटभित्र नै ४–० को आरामदायी अग्रता लिएको थियो । दोस्रो हाफमा लेस्टरले १० मिनेटको अन्तरमा तीन गोल गर्दै खेलमा फर्कने संकेत दिए पनि त्यसपछि गोल थप्न नसक्दा लेस्टर पराजित हुन पुग्यो ।

खेलको पाँचौं मिनेटमा फर्नान्डिन्होको पासमा केभिन डी ब्रुयनले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाएका थिए । खेलको १४औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । युरी टिलेमान्सले एमेरिक लापोर्टेलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा महारेज चुकेनन् ।

खेलको २१औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई ३–० ले अघि बढाए । २५औं मिनेटमा रहिम स्टर्लिङले पेनाल्टीमा गोल गर्दै सिटीलाई २५ मिनेट भित्रै ४–० को आरामदायी अग्रता दिलाए । यसपटक टिलेमान्सले रहिमलाई फउल गर्न पुगेका थिए । पहिलो हाफमै ४–० ले पछि परेको लेस्टरले दोस्रो हाफमा १० मिनेटमा अन्तरमा तीन गोल गर्दै खेलमा फर्कने संकेत दिए ।

५५औं मिनेटमा म्याडिसनले केलिचीको पासमा गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याए । ५९औं मिनेटमा एडेमोलाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ६५औं मिनेटमा केलिचीले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए ।

६९औं मिनेटमा एमेरिक लापोर्टेले गोल गर्दै सिटीलाई ५–३ ले अघि बढाउँदा लेस्टरको खेलमा फर्कने सम्भावना टाढियो । ८७औं मिनेटमा स्टर्लिङले रुवेन डियासको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै सिटीको जित पक्का गरे । यो जितसँगै शीर्षस्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक पुगेको छ ।त्यस्तै, अर्को खेलमा ब्राजिलियन मिडफिल्डर लुकास मोउराले एक गोल तथा दुई असिस्ट दिएपछि इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम हटस्परले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

टोटेनह्यामले १० खेलाडीमा समेटिएको प्यालेसलाई घरेलु मैदानमा ३–० ले पराजित गरेको हो । टोटेनह्याम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा ह्यारी केने, लुकास मोउरा र ह्युङ मिन सनले गोल गरे । खेलको ३२औं मिनेटमा केनको गोलबाट टोटेनह्यामले सुरुवाती अग्रता लिएको थियो । उनले लुकास मोउराको पासमा गोल गरेका थिए । त्यसको दुई मिनेटपछि ३४औं मिनेटमा लुकास मोउराले गोल गर्दै टोटेनह्यामको अग्रता दोब्बर पारे । उनले इमर्सन रोयलको पासलाई सदुपयोग गरेका थिए ।
खेलको ३७औं मिनेटमा वेलफ्रेड जाँहा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रिस्टल प्यालेस दबाबमा आएको थियो । ७४औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनह्यामको जित पक्का गरे । उनले लुकास मोउराको पासलाई सदुपयोग गरेका थिए ।

जितपछि टोटेनह्याम १६ खेलबाट २९ अंक जोडको छ । पराजित क्रिस्टल प्यालेस १८ खेलबाट २० अंक पुगेको छ । अर्को खेलमा ब्राइटनले ब्रेन्टफर्डलाई २–० ले पराजित गरेको छ । ब्राइटनको जितमा लियान्द्रो ट्रोससार्ड र निल मोउपेले गोल गरे । जितसँगै ब्राइटनको १७ खेलबाट २३ अंक भएको छ । त्यस्तै, इंग्लिस युवा विंगर बुकायो साकाले दुई गोल तथा नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डले दुई असिस्ट दिएपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सेनलले रेलिगेसन जोनमा संघर्ष गरिरहेको नर्विच सिटीमाथि उसैको मैदानमा ५–० को सानदार जित दर्ता गरेको हो । आर्सेनलको जितमा साकाले दुई गोल गर्दा काइरन टिएरनी, एलेसान्द्र लाकाजेट्ट र इमिल स्मिथ रोवीले समान एक गोल गरे ।

कारो रोड नर्विच नोरफोल्कमा आइतबार राति गोलको वर्षा भएको खेलमा आर्सेनलले छैटौं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो । उनले मार्टिन ओडेगार्डको पासमा गोल गरेका थिए । ४४औं मिनेटमा काइरन टिएरनीले ओडेगार्डकै पासमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । खेलको ६७औं मिनेटमा साकाले एलेसान्द्रे लाकाजेट्टको पासमा गोल गरेपछि आर्सनल खेलमा ३–० ले अघि बढ्यो । ८४औं मिनेटमा लाकाजेट्टले पेनाल्टीमा गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सेनललाई ५–० को सानदार जित दिलाए ।

डिसेम्बर पहिलो साता एभर्टनसँग २–१ ले पराजित भएयता आर्सेनलको यो लगातार पाँचौं जित हो । लगातार दोस्रो खेलमा आर्सेनलले ५ गोल गर्न सफल भएको छ । नर्विचको भने यो लगातार चौथो हार हो । जितपछि आर्सेनलको १९ खेलबाट ३५ अंक पुगेको छ । पराजित नर्विचको १८ खेलबाट १० अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्