किर्गिस्तानलाई हराउँदै नेपाल बन्यो अपराजित



काठमाडौं ।

साविक विजेता नेपाल अपराजित रहँदै बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ ।

नेपाली महिला टिमले राउन्ड रोविन लिगको अन्तिम खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको हो । यो सँगै नेपाल प्रतियोगितामा लगातार दोस्रो संस्करणको फाइनलमा पुगेको छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपालले तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै फाइनलमा पुग्न सफल भयो ।

नेपालले यसअघि लिग चरणमा श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो । त्यसपछि नेपालले माल्दिभ्स, बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । अब नेपालले उपाधिका लागि मंगलबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । लिग चरणमै नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले बंगलादेशमै भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्