एपीएफलाई पीएम कपको उपाधि



काठमाडौं ।

नेपाल एपीएफ क्लब धनगढीमा भएको ‘पीएम कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’मा विजेता बनेको छ । आइतबार भएको फाइनल खेलमा विभागीय टिम एपीएफले गत संस्करणको विजेता टिम प्रदेश नम्बर एकलाई ७ विकेटले स्तब्ध तुल्याएको हो । मात्र ६८ रनको सामान्य लक्ष्य एपीएफले १४.२ ओभरमा ३ विकेटको नोक्सानीमा पूरा गरेको हो । टिमलाई जित दिलाउन ओपनर ज्योति पाण्डेले ३६ रनको योगदान दिइन् । नटआउट रहेकी उनले ३९ बलको सामना गर्दै ६ चौकासमेत प्रहार गरेकी थिइन् ।

यसैगरी, अर्की नटआउट रहेकी ममता चौधरीले १९ रन बनाइन् । प्रदेश एककी कप्तान रुबिना क्षेत्रीले तीनै विकेट लिएकी थिइन् । उनले टिमको दोस्रो ओभर तथा उनको पहिलो ओभरमै ओपनर इन्दु वर्मा (५ रन) र राजमती ऐरी (०) लाई आउट गरेर राम्रो शुरुआत गराइन् । तर, रोमा थापा (४ रन) र ज्योतिले स्कोर ३५ सम्म पुर्याउँदा रोमाको विकेट रुबिनाले लिइन । यसपछि ज्योति र ममताले ३३ रनको नटआउट साझेदारी गरेपछि एपीएफ च्याम्पियन बन्यो ।

यसअघि, फाल्पा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको प्रदेश एकले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६७ रन बनाएको थियो । टिमको लागि कप्तान रुविनाले ४६ बलमा ३ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । एपीएफकी सीता रानामगरले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । रेखा रावलले २ तथा करुणा भण्डारीले १ विकेट हात पारेका थिए । विजेता एपीएफले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख प्राप्त गरेका छन् ।

रुबिना प्लेयर अफ टुर्नामेन्ट
टिम पराजित भए पनि प्रदेशकी कप्तान रुबिना ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएकी छन् । रुबिनाले ५ खेलमा १ सय ५७ रन बनाउनुको साथै ८ विकेट लिएकी थिइन् । रुबिनाले पहिलो खेलमा कर्णालीसँग ७६ रनको सानदार ब्याटिङ गरेकी थिइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्