सुनीलको गोलमा मच्छिन्द्र शीर्षस्थानमा उक्लियो



काठमाडौं ।

जारी ‘शहीद स्मारक ‘ए’ डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियनमा’ मच्छिन्द्र क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार दशरथ रंगशालमा भएको हेभिवेट खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएको हो । टिमको जितमा सुनील बलले निर्णायक गोल गरेका हुन् । खेल बराबरीतिर अग्रसर भइरहेको स्थितिमा सुनीलले सानदार गोल गर्दै टिमलाई शीर्ष स्थानमा पुर्याएका हुन् ।

सुनीलले इन्जुरी समयमा फ्रिकिकमा गोल गरेका थिए । पाँच मिनेट थपिएको इन्जुरी समयको पहिलो मिनेटमा मच्छिन्द्रले फ्रिकिक प्राप्त गरेको थियो । यही फ्रिकिक प्रहार मच्छिन्द्रको लागि अवसर बन्यो । उनले पहिलो बार ताकेर हानेको प्रहारले सीधै जाली चुमेको थियो । यो सँगै सुनीलको जारी लिगमा चार गोल भएको छ ।

यो नतिजापछि मच्छिन्द्रको ६ खेलबाट १४ अंक भएको छ भने पराजित मनाङको १३ अंक रह्यो । मच्छिन्द्र एएफसी कप खेल्नेतिर अग्रसर पनि भएको छ । तर, यसको टुंगो आगामी सातौं चरणको खेलको नतिजाबाट हुनेछ । यदि, जित हात पारेमा मच्छिन्द्रले एएफसी कप खेल्ने छ । यदि, बराबरी खेलेर मनाङले जित हात पारेमा मनाङले पनि एएफसी कप खेल्न सक्नेछ ।

खेलको तेस्रो मिनेटमा एडिलाजा सोमिडेको ओभरहेड किक पोस्ट नजिकैबाट बाहिरियो । १५औं मिनेटमा कप्तान अञ्जन विष्टको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा मनाङ अग्रता लिनबाट चुक्यो । २५औं मिनेटमा विशाल राईको फ्रिकिकमा नुरेन करिमको प्रहार गोल हुन नसक्दा मछिन्द्रले अग्रता लिन सकेन ।

३९औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोल गर्न नसक्दा मछिन्द्र अग्रता लिनबाट चुक्यो । डिफेन्डरले क्लियर गर्न नसकेको बललाई नुर्लानले गरेको प्रहार पनि बाहिरिएको थियो । ५८औं मिनेटमा सुनीलको क्रसमा विशालको हेडर सदुपयोग हुन सकेन । ६४औं मिनेटमा सुनिलको लामो प्रहारलाई गोलरक्षक विशाल सुनारले मुस्किलले बचाउँदा रिवाउन्डमा सुनिलकै प्रहार डिफ्लेक्ट हुँदा गोलरक्षकले सहजै नियन्त्रणमा लिन सफल भए ।

सातौँ चरणमा मनाङले होम ग्राउन्डको रूपमा ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ । मनाङले पोखरामा खेल्नेछ । तर, मछिन्द्रले पुलिससँग दशरथ रंगशालामा खेल्नेछ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लबले आज थ्री स्टारसँग खेल्नेछ । आर्मीको पनि एएफसी कप खेल्ने मौका छ । आर्मीले जितेमा १२ अंक हुनेछ ।

हिमालयन शेर्पाको जित
यसअघिको खेलमा हिमालयल शेर्पा क्लबले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबलाई ३–१ ले पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा हिमालयन शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोलीले दुई तथा सुरेश कुमालले एक गोल गरे । च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए ।

हिमालयन शेर्पाको यो लगातार दोस्रो जित हो । हिमालयन शेर्पाले अघिल्लो खेलमा ब्रिगेड ब्वाइजलाई ३–१ ले नै पराजित गरेको थियो । त्यसअघिको चार खेलमा हिमालयन शेर्पाले संकटा र पुलिससँग समान १–१ गोलको बराबरी खेल्दा मनाङसँग १–० र मछिन्द्रसँग ३–० को हार बेहोरेको थियो । च्यासलको भने यो चौथो हार हो । च्यासलले थ्री स्टार, आर्मी र जावलाखेलसँग हार बेहोरेको थियो । टिमले एपीएफलाई १–० ले पराजित गर्दा एनआरटीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हिमालयन शेर्पा ६ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । समान ८ अंक भए पनि सातदोबाटो युवा क्लबसँग गोलअन्तरमा पछि परेको छ । पराजित च्यासल ६ खेलबाट ४ अंक जोडेर १३औं स्थानमा यथावत रहेको छ । च्यासलको लागि रेलिगेसन हुने खतरा बढिरहेको छ ।

२२औं मिनेटमा त्रिदेव गुरुङको पेनाल्टी बक्स बाहिरको प्रहार फितलो बन्दा आकासियो । २५औं मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीले गोल गर्दै हिमालयन शेर्पालाई १–० को अग्रता दिलाए । क्रसमा आएको बललाई अभिषेक लिम्बूले क्लियर गर्न नसकेको बललाई मुताम्बाले नियन्त्रणमा लिदै गोलरक्षक अर्पण कार्कीलाई बिट गर्दै गोल गर्न सफल भएका थिए ।

३५औं मिनेटमा शेर्पाका कर्ण लिम्बूले अवसर पाए पनि उनको प्रहार फितलो बन्दा दोस्रो बार च्याप्दै बाहिरियो । ४०औं मिनेटमा चेतन थारुको प्रहारलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाउँदा च्यासल बराबरीबाट चुक्यो । ४७औं मिनेटमा मोउसा अवांगाको क्रस पासमा राजीव लोप्चनको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।
५६औं मिनेटमा मुताम्बाले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । सब्सिच्युट मिडफिल्डर मनीष थापाको क्रसलाई मुताम्बाले छातीले नियन्त्रणामा लिँदै दिएको पासमा त्रिदेव गुरुङको भली प्रहारलाई गोलरक्षक अर्पणले नियन्त्रणमा लिन नसकेको बललाई मुताम्बाले जाली चुमाएका थिए ।

७१औं मिनेटमा कप्तान कमल श्रेष्ठको कर्नरमा अभिषेक लिम्बूको हेडर बाहिरिँदा च्यासल गोल अन्तर कम गर्नबाट चुक्यो । ७५औं मिनेटमा रुमेश बर्तौलाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । राजीव लोप्चनको पासमा अनमार्क रहेका रुमेशले भलीमार्फत गोल गर्दा गोलरक्षक दीप कार्कीले रोक्ने कुनै अवसर नै पाएन ।
८०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । उनले मनीष थापाको पासलाई सदुपयोग गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा शेर्पा विजयी हुन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्