सिल्क ग्रुप र टेलिकम फाइनलमा



काठमाडौं ।

सिल्क ग्रुप र नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन आमन्त्रीत प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

दशरथ रंगशालाको कभर्डहलमा भएको च्याम्पियनसिपमा नेपाल विद्युत् प्राधिकरणलाई ३–१ ले पराजित गर्दै सिल्क फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गर्ने क्रममा शुरूको दुई खेल सिल्कका विकास श्रेष्ठ र अनुमाया राईले जित निकाल्दै खेललाई २–० को अग्रता लिए । विकासले विद्युतका दीपक बोहरालाई २१–१८, २१–१७ ले तथा अनुमायाले विद्युत्की शोभा गौचनलाई २१–१६, १८–२१, २१–१३ ले पराजित गरेका थिए ।

तेश्रो खेलमा विद्युत्का श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–११, २१–१४ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पु¥याए । यस्तै, खेललाई आफ्नो पक्षमा पार्ने क्रममा सिल्कका अनुमाया राई र तासी शेर्पाको जोडीले विद्युत्का शोभा गौचन र याम कुमारी गुरुङको जोडीलाई २१–१३, २१–१९ले पराजित गर्दै खेललाई ३–१ ले आफ्नो पक्षमा पार्दै फाइनल यात्रा तय गरेको हो ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजना नेपाल ब्याडमिन्टन संघ र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको सहयोगमा भएको च्याम्पियनसिपमा नेपाल आयल कर्पोरेसन र नेपाल टेलिकमबीच भएको खेलमा टेलिकमले बाजी मार्दै फाइनलमा सिल्कसँगको भेट पक्का गर्यो । पहिलो खेलमा टेलिकमका रत्नजित तामाङले आयल कर्पोरेसनका विष्णु कटुवाललाई २१–७, २१–१०ले पराजित गर्दै खेललाई १–०को अवस्थामा पुर्याए ।

दोश्रो खेलमा आयल कर्पोरेसनकी रशिला महर्जनले टेलिकमकी सीमा राजवंशीलाई २१–१२, २१–८ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याइन् । तेश्रो खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्ण शर्माको जोडीले आयल कर्पोरेसनका लक्ष्मण विश्वकर्मा र राम विश्वकर्माको जोडीलाई २१–९, २१–८ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए ।

चौथो खेलमा आयल कर्पोरेसनका रशिला महर्जन र शर्मिला कटुवालको जोडीले टेलीकमका जे.टी.गुड्डी कार्की र सीमा राजवंशीको जोडीलाई २१–१२, १६–२१, २१–८ ले पराजित गर्दै खेललाई दुई दुईको अवस्थामा पुर्याए । पाँचौं तथा अन्तिम खेलमा टेलिकमका हरिकृष्ण शर्मा र रत्नजित तामाङको जोडीले आयल कर्पोरेसनका राम विश्वकर्मा र बिष्णु कटुवालको जोडीमाथि २१–१८, २१–९ को जित निकाल्दै ३–२ का साथ फाइनल यात्रा तय गर्यो ।

प्रतिक्रिया दिनुहोस्