सेभिया र बार्सिलोनाको बराबरी



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार राति भएको खेलमा घरेलु टोली सेभिया र बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो । सेभिया १० खेलाडीमा समेटिए पनि बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन ।सेभियाका लागि पपु गोमेज तथा बार्सिलोनाका रोनाल्ड अराउजोले गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा शुरुवाती अग्रता सेभियाले लिएको तियो । ३२औं मिनेटमा गोमेजले कप्तान इभान राकिटिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह बढाए ।

सेभियाको गोलपछि आक्रामक बनेको बार्सिलोनाले ४५औं मिनेटमा बराबरी गोल फर्काएको थियो । रोनाल्डले औसमाने डेम्बेलेको पासमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काए ।
सेभिया ६४औं मिनेटमा १० खेलाडीमा समेटियो । बार्सिलोनाका जोर्डी अल्बासँग अनावश्यक विवादमा उत्रिएपछि जुलेस कुन्डेलाई रेफ्रीले सोझै रातो कार्ड देखाएका थिए । त्यसपछि बल पोसेसनमा पकड जमाए पनि बार्सिलोनाले गोल थप्न भने सकेन ।

खेलमा ५९ प्रतिशत बल पोसेसन राखेको बार्सिलोनाले २३ वटा पोस्ट प्रहार गरेको थियो । बार्सिलोनाको लगातार प्रयासमा सेभियाको रक्षापंक्ति बाधक बन्यो । जारी लिगका बार्सिलोनाको यो सातौं र सेभियाको पाँचौं बराबरी हो । बार्सिलोनाका औसमाने डेम्बेले ‘म्यान अफ दी म्याच’ भए । बराबरीसँगै दोस्रो स्थानमा रहेको सेभियाले १८ खेलबाट ३८ अंक बनाएको छ । बार्सिलोनाको २८ अंक छ ।

मंगलबार राति नै भएको अर्को खेलमा भिल्लारियलले डिपोर्टिभो अलाभेसलाई ५–२ गोलले हरायो । घरेलु मैदानमा भिल्लारियललाई जिताउन जेरार्ड मोरेनोले १८औं र ८८औं मिनेटमा तथा बोउलाय डीएले २७औं र ७६औं मिनेटमा दुई दुई गोल गरे । यरेमी पिनोले ७९औं मिनेटमा एक गोल थपेका थिए । अलाभेसका पेरे पोन्सले ४४औं र जोसेलुले ६५औं मिनेटमा गोल गरेका थिए । जितसँगै भिल्लारियलले २५ अंक बनाएको छ । पराजित अलाभेसले रेलिगेसन छल्न सकेको छैन । अलाभेसको १५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्