क्यानको कार्यप्रति बोर्डकै सदस्यको असन्तुष्टि



काठमाडौं ।

नेपाल क्रिकेट संघ(क्यान) को कार्यप्रति क्यान बोर्डका ६ सदस्यले असन्तुष्टि जनाएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै क्यानका ६ केन्द्रीय सदस्यले क्यानको काम र निर्णयप्रति विरोध जनाएका हुन् । क्यानका असन्तुष्ट ६ जना केन्द्रीय सदस्य छुम्बी लामा, अमितवीर पाण्डे, ऋषिराम गौतम, मोहम्मद दाउद अन्सारी, करण महतरा र सञ्जयराज सिंहले खुलेर विरोध गरे । कार्यसमितिको बैठकमा एजेन्डा वितरण नगरी आफूखुसी प्रस्तावहरू ल्याएर छलफल गर्ने, निर्णय पनि आफ्ना अनुकूलतामा लेख्ने तथा कतिपय निर्णयहरू छलफल नै नगरी गर्ने उल्लेख गर्दै उनीहरूले सदस्यहरूले समेत त्यस्ता निर्णयहरू प्रेस विज्ञप्तिमार्फत थाहा पाउनुपर्ने अवस्था बनेको आरोप लगाए ।

तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीमाथिको कारबाही अन्यायपूर्ण रहेको उल्लेख गर्दै गौतमले खेलाडीको वर्गीकरणका विषयमा प्रश्न गर्न पाउने उनीहरूको अधिकार भएको समेत बताएका छन् । ‘खेलाडीहरूले आफ्ना हक अधिकारको विषयमा बोल्न पाइन्छ । त्यो बाहेक उनीहरूले बोलेका छैनन्, त्यसमा यस्तो कारवाही गर्न उपयुक्त हुँदैन ‘गौतमले भने ।

क्यानले केही दिनअघि ज्ञानेन्द्रलाई कप्तान, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीबाट हटाउनका साथै चार खेलाडीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्याक्टबाट ६ महिनाका लागि हटाउने निर्णय गरेको थियो । खेलाडीमाथिको कारबाहीका विषयमा बोर्डका सदस्यले नै फरक मत सार्वजनिक गरेका थिए । बोर्ड सदस्य लामाले खेलाडीमाथि अन्याय त भएकै छ त्यसबाहेक क्यानको काम कारबाही विधि सम्मत हुन नसकेकोले आफूहरूले आवाज उठाएको बताए ।

क्यानको पुस १४ र १५ गते धनगढीमा दोस्रो वार्षिक साधारण सभा हुँदै छ । तर, विधान अनुसार २०७८ कात्तिकमा ४ वर्षे कार्यकाल समाप्त भएका २० जिल्लाको अधिवेशन हुन नसकेको स्मरण गराउँदै उनीहरूले ती जिल्ला अधिवेशनपछि मात्र केन्द्रीय अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।

कार्यसमितिको बैठक भएकै दिन निर्णयहरू नलेख्ने तथा एउटा बैठकको निर्णय अर्को बैठकमा समेत जानकारी नगराउँदा असहमति हुँदाहुँदै पनि आफ्ना धारणा राख्ने अवस्था बनेको छैन । तर, क्रिकेट संघ जसरी चलेको छ यसले विधि र पद्धतिबाट चलेको छ कि नेतृत्वकर्ताको स्वेच्छाचारितामा भन्ने प्रश्न गम्भीररूपमा उठ्दै आएको छ ।

संघले हालसम्म वार्षिक क्यालेन्डर बनाउन सकेको छैन । हचुवाका भरमा राष्ट्रिय खेलकुद परिषद् र महानगरपालिकाको कार्यक्रम अनुसारका सीमित प्रतियोगितामा रुमलिएको छ । नेतृत्वमा आएको २ वर्ष बितिसक्दा पनि संघको नामको राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न सकेको छैन । २०७६ सालमा निर्वाचित भएपश्चात् नेतृत्व तहबाट नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता क्रिकेट संघले आफैंले सञ्चालन गर्ने प्रतिबद्धता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्