अग्रज र युवाको संयुक्त प्रयासमा रूपान्तरण सम्भव



दल हाँक्ने ठोस रणनीतिका अतिरिक्त युवाको समग्र उन्नति/प्रगति, रोजगारीका लागि ठोस एजेन्डा र राष्ट्रिय सम्पदा/संस्कृतिलाई उचित परिचालन गर्दै तिनैलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने तथा समग्रमा राष्ट्रको विकास–निर्माणका लागि दूरदृष्टि राख्ने युवा नेतृत्व नै अहिलेको खाँचो हो । नेपाली कांग्रेसको भर्खरै सम्पन्न १४ औं महाधिवेशनले यस्तै सन्देश दिएको छ ।दलमा रुपान्तरणको नारा दिएर महाधिवेशनमा सभापतिको उम्मेदवार भएका डा.शेखर कोइरालाको पक्षमा देखिएको मतभारबाट वास्तवमै नेपाली कांग्रेसका कार्यकर्ता युवा नेतृत्वको पक्षमा रहेका छन् भन्ने प्रष्ट्याउँछ ।

‘शेखर कोइराला, गणितीय हिसाबले पराजित हुनुभए पनि जन जनको मनमा विजयी हुनुभएको छ,दलमा रुपान्तरण तथा पुस्तान्तरणको नारालाई मूर्तरुप दिनका लागि अभियान शुरू गर्ने नेताका रुपमा उहाँ स्थापित हुनुभएको छ’ अहिले प्रायजसो सुनिने टिप्पणीहरू हुन् यी । नेपाली कांग्रेसको सम्पन्न निर्वाचनबाट चयन भएका अधिकांश युवा नेताहरूलाई हेर्दा लाग्दछ, वास्तवमै कार्यकर्ताहरूको चाहना पनि युवा नेतृत्व नै रहेछ ।

उपाध्यक्ष धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरू वर्तमान युगका चाहना हुन्, जनताले यस्तै नेताहरूबाट परिवर्तनको अपेक्षा गरेका छन् । निश्चय नै परिवर्तन र त्यसको स्थायित्व तथा निरन्तरतालाई विश्वास गर्ने जोसुकैका लागि पनि युवा नेतृत्वकै खाँचो पर्दछ । अझ त्यसमाथि आफ्नो दलीय अभ्यासलाई विधिविधान तथा नियमसंगत ढंगले सञ्चालन गर्न तथा सबै पक्षलाई समेटेर लग्नका लागि पनि नेतृत्व सफल हुनपर्ने भएकोले त्यसका लागि खरो उत्रिनसक्ने भनेको पनि युवा पुस्ता नै हो भन्दा अत्युक्ति नहोला । भनिहाल्दा सतही र असहज लाग्नसक्दछ, तर नेपाली कांग्रेसजस्तो देशको जेठो प्रजातान्त्रिक राजनीतिक दलमा जति विधिसम्मत गतिविधि हुनुपर्ने हो त्यो हुन सकेको नदेखिएकैले संस्थापन इतर पक्ष जन्मिएको हो । यस खालको आरोप निराधार नरहेको कांग्रेसकै नेता तथा कार्यकर्ताहरू बताउँछन् । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा आम निर्वाचनमा जाँदा ठूलो क्षति व्यहोर्नु परेकोले अब त्यस्तो हुन नदिनका लागि पनि नयाँ नेतृत्व आवश्यक रहेको महसुस गरिएअनुसार नै कोइरालाले आफ्नो प्यानेललाई अगाडि बढाए र नारा अनुसार नै युवा नेताहरूलाईअवसर दिए । झण्डै ४१ प्रतिशत मत ल्याउन सफल कोइराला पक्ष अब दलको एउटा प्रमुख शक्तिमा मात्र सीमित भएन, महाधिवेशनबाट पुनः निर्वाचत सभापति देउवालाई पनि विगतमा जस्तो स्वेच्छाचारी ढंगबाट अघि बढ्न नदिने शक्तिका रूपमा स्थापित भयो । पटक पटक सभापति बन्न सफल देउवालाई पार्टी सञ्चालन गर्न विगतमा जस्तो सहज भने हुने छैन ।

सभापति पदका लागि चुनावी मैदानमा प्रत्यासी बनेका विमलेन्द्र निधि र प्रकाशमान सिंहले भने यसपटक आफ्नो कद घटाएको टीकाप्पिणी पनि गरिँदैछ । पहिलो चरणमा अत्यन्त कम मत ल्याएर पराजित भएका नेताद्वय सिंह र निधिले दोस्रो चरणमा डा.कोइरालालाई समर्थन जनाउने भनी दिएको वचन पूरा नगरी देउवालाई समर्थन गरेपछि पार्टीका कार्यकर्तालगायत शुभचिन्तकहरू पनि उहाँहरूबाट बिच्किएको अवस्था रहेको छ । उहाँहरूले मौखिक रूपमा युवा नेतृत्वलाई समर्थन गर्ने भन्दै पटक पटक बताउँदै आए पनि वास्तविकतामा फरक व्यवहार देखाएकोले उहाँहरू परिवर्तनको पक्षधर नभएको व्याख्या विश्लेषण गरिँदैछ । यसरी हेर्दा कतिपय कार्यकर्ता उहाँहरू एक्कासी कसरी आफ्नो वचनको उल्लंघन गर्ने निर्णयमा पुग्नुभयो भन्ने आश्चर्य प्रकट गरिरहेका छन् भने कतिपयले सभापतिमा विजयी हुने सम्भावना क्षीण भए पनि निजी स्वार्थहेतु प्रधानमन्त्री एवम् सभापति देउवासँग बार्गेनिङ गर्नका लागि मात्र उम्मेद्वारी दिएको देखिएपछि उहाँहरू बढी आलोचित बन्नुभएको हो । यस अर्थमा उहाँहरूको पक्ष विजयी बने पनि पराजित मानसिकताबाट गुज्रिरहेको छ । तर, दलहरूमा यस्तो कार्य गर्ने नेताका पक्षधरहरूलाई नैतिकताको सवालले पिरोलिरहेको अवस्था छ । त्यसैले भन्न सकिन्छ–उहाँहरूले भविष्यमा आफ्नै बलियो सम्भावनालाई टुंग्याउनुभएको छ ।

त्यसो त सिंह र निधिलाई लागेको होला –डा.कोइरालाको पक्षलाई समर्थन नै गरिहाले पनि उनले युवा पुस्तालाई अघि सारेकोले आफ्नो राजनीतिक भविष्य खतरामुक्त छैन । यता कोइरालाले आफू पराजित भए पनि पार्टीमा आफ्नो बलियो उपस्थितिबाट अब पार्टीलाई सही दिशामा डोर्याउन सकिने विश्वास व्यक्त गर्दै आउनुभएको छ । डा. कोइरालालाई कार्यकर्ताले यति धेरै विश्वास गरेको पाइयो कि मुलुकको भावी नेतृत्व युवाको हातमा जानु भनेको कोइरालाको सोच, योजना तथा अरूलाई हेर्ने सकारात्मक दृष्टिकोणकै फल हो । उहाँले युवाको आवाजलाई उठाउनुभएकैले युवाले मन पराएको भन्न कति पनि हिच्किचाउनु पर्दैन । एउटा अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभएअनुसार सभापति पदका लागि भएको निर्वाचनमा उहाँलाई प्राप्त भएको मत आँकलन अनुसार नै आएको, अझ केही बढी प्राप्त भएको थियो । आफ्नै परिवारका डा.शशांक कोइराला, सुजाता कोइराला र आफ्नै पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरूको असहयोगका कारण पराजित हुनुपरे पनि कार्यकर्ताको विश्वास जित्न सफल भएकोमा उहाँ आफ्नो अभियानमा सफल भएको ठान्नुहुन्छ ।

अघिल्लो दिनसम्म सबैले आफूलाई सहयोग गर्ने भनेका तर अन्तिम क्षणमा कसरी अवस्था परिवर्तन भयो भन्ने कुरा भने रहस्यमय नै छ ।देशको अधिकांश भूभागको भ्रमण गरी कार्यकर्ता भेटघाट गर्दै आएका कोइरालाले सबैलाई भेटेरै धन्यवाद दिनका लागि फेरि भ्रमणमै निस्कने योजना बनाएका छन् । डा.कोइरालाले आगामी निर्वाचनमा आफू सभापतिमा नउठ्ने बरू सक्षम युवालाई नेतृत्व दिनका लागि तयार गर्ने अठोटसमेत गर्नुभएकोले यो पक्ष विशेष दह्रो रूपमा अघि बढ्नेछ । त्यसो त अर्को पक्ष चुप लागेर बस्छ भन्न खोजिएको पनि होइन । अर्को पक्षले पनि आफूसँग भएका सबैखाले उपायहरू प्रयोग त गर्ने नै छ । तर, नेपाली कांग्रेसमा कसैले कसैलाई टीका लगाइदिएका भरमा अब कसैले नेता मान्नेवाला छैन । त्यसो त देशकै ठूलो प्रजातान्त्रिक दल भएको प्रमाणित पनि भएको छ खुल्ला प्रतिस्पर्धाबाट ।

नेपाली जनताले एउटा के मात्र अपेक्षा गरेका छन् भने विगतमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता नेताहरूले देखाएको उदारता, निस्वार्थ भाव हालका नेताहरूले पनि प्रदर्शन गरिदियून् । तर, अहिलेसम्म त्यसखालको झल्को देखिन सकेको छैन । वास्तवमा पार्टी राजनीतिमा लागिसकेपछि त्यसबाट आफ्नो राजनीतिक व्यक्तित्व पनि सँगसँगै उकास्न सकियोस् भन्ने अपेक्षा हुन्छ नै तर पार्टीमा त्यस किसिमको वातावरणको अभाव भएसम्म सामान्य नेता तथा कार्यकर्ताले त्यस्तो अवसर प्राप्त गर्न सकेका छैनन् । गुट उपगुट, लोभलालच, धम्की तथा डरत्रासजस्ता अस्वस्थ गतिविधिका कारण नेपालका दलहरू दोषमुक्त छैनन् । त्यसमा कांग्रेस अछुतो हुने कुरै भएन ।

आखिर सम्पन्न निर्वाचनले सभापति देउवासहित केही नेता उमेरका कारण पुराना भए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत पदाधिकारी तथा सदस्यहरू अधिकांश युवाहरू नै चुनिएकाले सबैको चाहना पुस्तान्तरण तथा रूपान्तरण नै रहेछ भन्दा फरक परोइन । तर युवा पुस्ताले पनि अबको देशको आवश्यकता बुझेर सोही अनुरूपका योजना, नीति, कार्यक्रमहरू ल्याउन सकेमा जनतालाई विश्वस्त पार्न सकिन्छ । युवाको सोचअनुसारका देश र जनतालाई समृद्ध बनाउने खालका कार्यक्रमहरू ल्याएर नेतृत्वलाई त्यो कार्यान्वयन गराउनका लागि मनाउन सकिन्छ ।

त्यसो त यसअघि सम्पन्न प्रमुख प्रतिपक्षी नेकपा एमाले महाधिवेशनले पनि नयाँ नेतृत्व चयन गर्यो, पार्टीका अध्यक्ष केपी शर्मा वलीलगायतका केही नेताबाहेक नयाँ अनुहार सहमतिमा मनोनित भएका छन्/चुनिएका छन् । एमालेमा पनि अध्यक्षलगायत केही पदमा निर्वाचन गरिएकाले प्रजातान्त्रिक अभ्यास यहाँ पनि भएको हो । आलोचना गर्नेहरू भन्दछन्– वडा तहदेखि नै आफ्नै अनुकुलका प्रतिनिधिहरू छनोट गरेर पठाए पछि ओली पक्षधरकै बाहुल्य रहेको छ, केन्द्रीय समितिमा । त्यसो त पार्टीको नयाँ नेतृत्व छनोट गर्ने सर्वाधिकार अध्यक्ष ओलीमा नै थियो । सोहीअनुरूप अधिकांश पदमा सहमति भए पनि अध्यक्ष ओली आफैंले प्रतिस्पर्धामा उत्रनुपरेको थियो । ओलीसँगको प्रतिस्पर्धामा अध्यक्षका अर्का प्रत्याशी डा. भीम रावल पराजित हुनुभयो । त्यसै गरी उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल पनि ओली इतर पक्ष भएकै कारण पराजित हुनुभयो । नेतृत्व छनोटको प्रक्रिया गलत भएको भन्दै लामो समयदेखि विरोधमा उत्रँदै आएका डा. रावल र भुसालले चुनावमा सर्वसम्मत हुन नदिने बरू आफूले पराजय भोग्नु परे पनि चुनाव लड्ने निर्णय गर्नुभएअनुसार यहाँ पनि प्रजातान्त्रिक अभ्यास भयो ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि तुलनात्मक रूपमा युवा नेतृत्व चयन भएकाले युवा जमातलाई आकर्षित गरेको छ । लामो समयदेखि नेतृत्वमा जम्दै आएका कमल थापालाई राजेन्द्र लिङ्देनले अध्यक्षमा पराजित गरेपछि थापाको विरासत तोडिएको छ । यहाँ पनि प्रजातान्त्रिक अभ्यास नै भएको वास्तविकतालाई स्वीकार गर्नुपर्दछ । उल्लिखित सबै दलका नेतृत्वले युवालाई स्थान दिनैपर्ने, राष्ट्र र जनहितका सवालमा खरो उत्रनै पर्ने र प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक सम्पदालाई संरक्षण गर्दै राष्ट्रको समग्र उन्नतिका लागि तिनीहरूको संरक्षण, संवद्र्धन र सिर्जनात्मक तरिकाले प्रयोग गर्दै अध्ययन अनुसन्धानको थलो नेपाललाई नै बनाउने सोचका साथ युवा अघि बढ्नैपर्दछ । अन्यथा अघिल्ला नेतृत्व र हालका नेतृत्वमा कुनै फरक हुने देखिँदैन । रूपमा भिन्नता, सारमा भिन्नता र नेतृत्वमा सिर्जनात्मक अभ्यासजस्ता कार्यहरू हुन सकेमा युवाको भूमिका प्रष्ट देखाउन सकिन्छ । नेतृत्वदायी पदहरूमा खालि ठाउँ भर्ने मात्र नभएर सार्थकता झल्काउने काम हुने विश्वास गर्न सकिन्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्