रियल बराबरीमा रोकियो



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मेड्रिड रेलिगेसनको मारमा रहेको काडिजसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले काडिजसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । कोरोना संक्रमणका कारण रियल रोजाइका ६ जना खेलाडीविनै खेलेको थियो । लुका मोड्रिच, रोड्रिगो, मार्काे असेन्सियो, मार्सेलो, आन्द्रेय लुनिन र ग्यारेथ बेल काडिजविरुद्धको खेलमा अनुपस्थित थिए ।

खेलभर काडिजमाथि दबाब जमाएको रियलले तीन दर्जन पोस्ट प्रहार गरेको थियो । ८२ प्रतिशत बल पोसेसन राखेको रियलले गोल गर्न भने सकेन । रक्षात्मक खेलेको काडिज आफ्नो रणनितिमा सफल भयो । काडिजका रक्षक कार्लोस अकापो ‘म्यान अफ दी म्याच’ भए । बराबरीसँगै रियलले १८ खेलबाट ४३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३७ अंक छ । सेभियाले एक खेल कम खेलेको छ । रियललाई रोकेको काडिज १४ अंक सहित १९औं स्थानमा छ ।

आइतबार राति नै भएको अन्य खेलमा एथ्लेटिक बिल्बाओले तेस्रो स्थानमा रहेको रियल बेटिसलाई ३–२ गोलले स्तब्ध बनायो । जितसँगै बिल्बाओले १८ खेलबाट २४ अंक बनाएको छ । बेटिसको ३३ अंक छ । अर्को खेलमा ग्रानाडाले मालोर्कालाई ४–१ र गेटाफेले ओसासुनालाई १–० गोलले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्