सेभिया र बार्सिलोना विजयी



मेड्रिड, (एजेन्सी) ।

स्पेनिस ला लिगामा सेभिया र बार्सिलोनाले जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले एट्लेटिको मेड्रिडलाई २–१ गोलअन्तरले हराएको हो । त्यस्तै, बार्सिलोनाले पनि इल्चेमाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्यो । सेभियाको जितमा इभान राकिटिक र लुकास ओकम्पोसले गोल गरे । एट्लेटिकोका फिलिपेले एक गोल फर्काए । प्रतिस्पर्धात्मक खेलमा सेभियाले सातौं मिनेटमा खाता खोलेको थियो । राकिटिकले करिम रिकिकको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए ।

खेलको ३३औं मिनेटमा फिलिपेले बराबरी गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । फिलिपेले थोमस लेमारको पासमा गोल गरेका थिए । ८८औं मिनेटमा लुकास ओकम्पोसले जुलेस कोन्डेको पास गोल गर्दै सेभियालाई जिताए । सेभियाका इभान राकिटिक ‘म्यान अफ दी म्याच’ भए । जितसँगै १७ खेल सकेको सेभियाको ३७ अंक छ । पराजित एट्लेटिको २९ अंक रहेको छ ।

त्यसैगरी, घरेलु मैदानमा बार्सिलोनालाई जिताउन फेरान जुटग्ला, पाब्लो गाभिरा र निकोले गोल गरे । इल्चेका टेटे मोरेन्टे र पेरे मिल्लाले गोल गरेका थिए । जारी सिजन खराब लयबाट गुज्रिएको बार्सिलोनाको पछिल्लो पाँच खेलमा यो पहिलो जित हो । बार्सिलोनाले १६औं मिनेटमा फेरानको गोलमा अग्रता लिएको थियो । पाब्लोले १९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा खेलमा फर्किएको इल्चेले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्यायो । ६२औं मिनेटमा टेटे मोरेन्टे र ६३औं मिनेटमा पेरे मिल्लाले गोल गरेपछि खेलले रोचक मोड लिएको थियो । त्यसपछि ८५औं मिनेटमा निकोले पाब्लो गाभिराको पासमा गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाए । निको ‘म्यान अफ दी म्याच’ भए । जितसँगै बार्सिलोनाले १७ खेलबाट २७ अंक बनाएको छ । पराजित इल्चे १५ अंक छ ।

त्यस्तै, अर्को खेलमा भिल्लारियलले १० खेलाडीमा सिमित रियल सोसिडाडलाई ३–१ र रायो भालेकानोले डिर्पोटिभो अलाभेसलाई २–० गोलले पराजित गर्दै तीन अंक बटुल्यो ।

प्रतिक्रिया दिनुहोस्