बालकलाई फुटबल प्रशिक्षण



बाँके ।

नेपालगञ्जमा ८ देखि १२ वर्षका बालकलाई फुटबल प्रशिक्षण दिन शुरू गरिएको छ । करोड बढीको लागतमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीमा बनाइएको एन्फा ग्रासरूट फुटबल स्पोर्टस् एकेडेमीमा बालकलाई फुटबल प्रशिक्षण दिन शुरू गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका, वडा नं. १ र प्रदेश सरकारको सहयोगमा धम्बोझीमा एन्फा ग्रासरूट फुटबल एकेडेमी तयार गरिएको छ । एकेडेमीमा अहिले धम्बोझी आसपासका ५० बढी बालकले नियमित प्रशिक्षण शुरू गरेका छन् ।

फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठले स्कूललाई ध्यानमा राखेर अहिले शनिबार एक दिन प्रशिक्षण दिन शुरू गरिएको बताउनुभयो । उहाँले अर्को हप्तादेखि शुक्रबार र शनिबार प्रशिक्षण दिइने जानकारी दिनुभयो । पश्चिम नेपालमा ग्रासरुट फुटबल एकेडेमी नहुँदा उमेर समूहका खेलाडी उत्पादन हुन सकेको छैन । धम्बोझीमा बनेको एकेडेमीले केही वर्षमै उमेर समूहमा राष्ट्रिय जर्सी लगाउने खेलाडी तयार पार्ने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

प्रत्येक शनिबार ८ देखि १२ वर्षका बालक स्पोर्टस जुत्ता, लामो मोजा र फुटबल जर्सी लगाएर मैदानमा आउने गर्दछन् । कतिपय अभिभावक आफ्ना छोरालाई लिएर एकेडेमीमा आइरहेका छन् । त्यसमध्येका नेपालगञ्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिृकत कृष्ण जोशीले छोराले रहर गरेकाले फुटबल प्रशिक्षण दिन ल्याएको बताउनुभयो ।

नेपालगञ्जमा रंगशाला छ । त्यहाँ ठूला प्रतियोगिता र जिल्लास्तरीय खेलाडीले खेल्ने मौका पाउँछन् । धम्बोझीमा बनेको ग्रासरुट एकेडेमीले बालकलाई फुटबल खेलाडी बनाउन सघाउ पुग्ने सम्बद्धहरू बताउँछन् । जुनसुकै खेलको विकास गर्ने हो भने विद्यालयस्तरबाटै खेल्न सिकाउनुपर्छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले धम्बोझीमा नियमित प्रशिक्षण शुरू गरिएको र नियमित प्रशिक्षण हुँदा केही वर्षमै उमेर समूहको राष्ट्रिय खेलाडी उत्पादन हुने बताउनुभयो ।

एन्फाले उमेर समूहका बालकको छनोट गर्दा पश्चिमका बालक पर्दैनन् । किनभने, पूर्वमा जस्तो पश्चिममा ग्रासरुट एकेडेमीहरू सञ्चालन छैनन् । नियमित प्रशिक्षण नगरेका बच्चा एन्फाको छनोटमा पर्दैनन् । धम्बोझीमा बनेको एन्फा ग्रासरुट फुटबल एकेडेमीमा नियमित प्रशिक्षण दिन सकेमा यस क्षेत्रबाट पनि उमेर समूहमा राष्ट्रिय जर्सी लगाउने खेलाडी उत्पादन हुने फुटबलप्रेमीहरू बताउँछन् ।

फुटबल सिक्न आउने बालकलाई अतिरिक्त ज्ञान पनि सिकाउने गरिन्छ । मोबाइल धेरै खेलाउनु हुँदैन, आमा बुबाले भनेको मान्नुपर्छ, समयमा उठ्नुपर्छ । पढ्नुपर्छ जस्ता कुरा प्रशिक्षणको क्रममा बताउने गरिएको छ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले कुलतबाट बालबालिकालाई बचाउनका लागि खेल खेलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्