हाफ म्याराथनमा सन्तोषी र तीर्थ पहिलो



काठमाडौं ।

धादिङकी सन्तोषी श्रेष्ठ र बाग्लुङका तीर्थ पुनले रन फर प्रोटिन हाफ म्याराथनमा पहिलो भएका छन् । नेपाल भेटनरी एसोसिएनद्वारा आयोजित म्याराथनमा सन्तोषी महिलातर्फ तथा तीर्थ पुरुषतर्फ पहिलो भएका हुन् । खुल्ला हाफ म्याराथान पुरुषमा तीर्थले निर्धारित २१ किलोमिटर दूरी १ घन्टा ३ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे । दोस्रो भएका जुम्लाका दुर्गाबहादुर बुढाले १ घन्टा ३ मिनेट ४९ सेकेन्डमा दूरी पार गरे ।

एपिएफका गोपीचन्द्र पार्कीले १ घन्टा ४ मिनेट २९ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । आर्मीका राजन रोकाले १ घन्टा ४ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गरे । आर्मीकै होमलाल श्रेष्ठले १ घन्टा ५ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै पाँचौं स्थान हासिल गरे ।

खुल्ला हाफ म्याराथन महिलामा पहिलो भएकी सन्तोषीले निर्धारित दूरी १ घन्टा १४ मिनेट १४ सेकेन्डमा पूरा गरिन् । एपिएफकी पुष्पा भण्डारीले १ घन्टा १७ मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो स्थान हासिल गरिन् । आर्मीकी विश्वरूपा बुढाले १ घन्टा १९ मिनेट १ सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन् । एपीएफकी विन्द्रा धनके श्रेष्ठले चौथो तथा पुलिसकी रेखा विष्टले पाँचौं स्थान हासिल गरेका थिए ।

विजेता सन्तोषी र तीर्थले समान १ लाख रुपियाँ हासिल गरे । यस्तै, दोस्रो भएका पुष्पा र दुर्गाले समान ७५ हजार, तेस्रो भएका विश्वरूपा र गोपीले ५० हजार नगद हात पारे । चौथो भएका विन्द्रा र राजनले समान ४० हजार तथा पाँचौं भएका रेखा र होमलालले समान ३० हजार रुपैयाँ हात पारेका थिए ।

१० किमि खुल्ला पुरुषमा आर्मीका मुकेश पाल पहिलो भए । उनले निर्धारित दूरी ३० मिनेट ३९.४१ सेकेन्डमा पूरा गरे । पर्वतका अनिष थापा मगरले ३१ मिनेट ०३.९० सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे । आर्मीकै दीपक अधिकारीले ३१ मिनेट ०८.९१ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए ।

एपीएफका अजित कुमार यादवले ३१ मिनेट ५०.४८ सेकेन्डसहित चौथो स्थान हासिल गर्दा आर्मीका नरेन्द्र सिहं राउतले ३२ मिनेट ०१.२६ सेकेन्डसहित पाँचौं भए । पहिलो भएका मुकेशले ५० हजार, दोस्रो भएका अनिषले ४० हजार, तेस्रो भएका दीपकले ३० हजार, चौथो भएका अजितले २० हजार र पाँचौं भएका नरेन्द्रले १० हजार रुपैयाँ हात प्राप्त गरे ।

खुल्ला महिला ५ किमिमा पुलिसकी राजपुरा पछाई पहिलो भइन् । उनले निर्धारित दूरी २२ मिनेट ४२.२ सेकेन्डमा पूरा गरिन् । जुम्लाकी राममाया बुढाले २३ मिनेट ०८.१ सेकेन्डसहित दोस्रो स्थान हासिल गरिन् । तेस्रो भएकी एपीएफकी फूलमती रानाले २३ मिनेट ५०.१ सेकेन्डमा दूरी पार गरिन् । पुलिसकी बिर्सना कुमालले चौथो तथा एपीएफकी आशा राउतले पाँचौं स्थान हासिल गरिन् । राजपुराले ३० हजार, राममायाले २० हजार, फूलमतीले १५ हजार, बिर्सनाले १० हजार तथा आशाले ५ हजार रुपैयाँ हात पारे ।

५ किलोमिटर स्कुल ब्वाइजमा प्रकाश कठायत पहिलो, आशिष क्षेत्री दोस्रो, नागेश्वर ऐर तेस्रो, एकेन्द विक चौथो तथा विश्वराम कुँवर पाँचौं भए । उनीहरूले क्रमशः ३० हजार, २०, हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

३ किलोमिटर स्कुल गल्र्समा जुम्लाकी बन्दना बुढा पहिलो, जुम्लाकै समित बुढा दोस्रो, कालिकोटकी लक्ष्मी शाही तेस्रो, स्वयम्भूकी सोनु घतानी चौथो तथा जेसिस स्कुलकी रेस्तिना सितिकुम पाँचौं भइन् । उनीहरूले क्रमश, २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ हात पारे ।

३ किलोमिटर ह्विल चेयरमा प्रेमबहादुर विक पहिलो, कृष्ण चौधरी दोस्रो, रामकाजी मिजार तेस्रो, दीपक श्रेष्ठ चौथो तथा यमी झाँक्री मगर पाँचौं भइन् । ह्विल चेयरको विजेताले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौंले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्