मनाङको घरेलु मैदानमा पुलिसमाथि रजाइँ



काठमाडौं ।

पहिलो पटक ‘ए’ डिभिजन लिग काठमाडौं बाहिर भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबले घरेलु मैदानमा खेल्दै शानदार जित हात पारेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको हो । यस जितसँगै मनाङ अंकतालिकाको शीर्ष स्थानमा कायमै रह्यो र एएफसी कप छनोट खेल्ने सम्भावना पनि बलियो बनेको छ । मनाङको ५ खेलबाट १३ अंक छ भने डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसँग ११ अंक रहेको छ । मच्छिन्द्रले अघिल्लो दिन संकटासँग गोलरहित बराबरी खेल्नु पनि मनाङलाई फाइदा पुगेको हो ।

मनाङको जितमा अञ्जन विष्टले २ गोल गरे भने निशान लिम्बूले एक गोल गरेका हुन् । पुलिसका लागि सुमन लामाले सान्त्वना गोल गरेका थिए । यो हारपछि पुलिसको ५ खेलबाट ५ अंक मात्रै रहेको छ । मनाङ भने अपराजित रहेको छ । मनाङले शुरुआतमै अग्रता लिएको थियो । खेलको १०औं मिनेटमा अञ्जनले गोल गरेर टिमलाई १–० को अग्रता दिलाए । उनले दिनेश राजवंशीले दिएको लामो पासमा गोल गर्न सफल भएका थिए । गोल बचाउन पेनाल्टी बक्सबाहिर आएका पुलिसका गोलकिपर रोशन खड्कालाई अञ्जनले कुनै मौका नै दिएनन् । उनले जारी लिगमा व्यक्तिगत पहिलो गोल गरेका थिए ।

यसपछि पुलिसका लागि सुमन लामाले बराबरी गोल फर्काए । उनले पेनाल्टी किक सदुपयोग गरेका थिए । मनाङका डिफेन्डर सरोज योञ्जन लामाले आफ्नै डिबक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईप्रति फाउल खेलेपछि रेफ्रीले पेनाल्टीको संकेत गरका थिए । उक्त गोलपछि पुलिसले पहिलो हाफमा मनाङलाई १–१ बराबरीमा रोकेको थियो । दोस्रो हाफमा भने पुलिसले सोचे जस्तो भएन ।

मनाङले दुई गोल थपेर पुलिसलाई हार स्विकार्न बाध्य तुल्याएको थियो । अञ्जनले ७३ औं मिनेटमा फ्रिकिकमार्फत् गोल गरेर मनाङको अग्रता २–१ मा पुर्याएका थिए । यसको १० मिनेटपछि निशानले रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए । ओलावाले आफिजले गरेको प्रहार पुलिसका गोलकिपर रोशनले बचाए तर, बल रिबाउन्ड हुँदा निशानले कुनै गल्ती गरेनन् र मनाङ खेलमा ३–१ को अग्रतामा रहेको थियो । यसपछि दुबै पक्षबाट गोल भएनन् र मनाङले स्पष्ट ३ अंक थपेको छ ।

जावलाखेलको पहिलो जित
जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले पाँचौं चरणमा आएर पहिलो जित हात पारेको छ । जावलाखेलले दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबलाई १–० ले हराएको हो । टिमलाई जित दिलाउन निकोलस फर्नान्डेजले निर्णायक गोल गरेका थिए ।

यो टिमको पहिलो गोल समेत थियो । यसअघि, चारै खेलमा जावलाखेल विपक्षीविरुद्ध गोल गर्न असफल भएको थियो । यो जितसँगै जावलाखेलको ५ खेलबाट ४ अंक भएको छ । टिमले पहिलो तीन खेलमा हार बेहोरेको थियो भने चौथो चरणमा ब्रिगेड ब्वाइजसँग १ अंक जुटाउन सफल भएको थियो । जावलाखेल रेलिगेसन क्षेत्रबाट उम्किएको छ भने च्यासलको पनि चार अंक रहेको छ ।

थ्रीस्टार बराबरीमा
दशरथ रंगशालामै भएको अर्को खेलमा थ्रीस्टार क्लब र न्युरोड टिम (एनआरटी) ले गोलरहित बराबरीमा चित्त बुझाए । दुवै तर्फबाट पोस्ट एट्याक भए पनि गोल भने गर्न सकेनन् । यो नतिजासँगै थ्रीस्टारको उपाधि जित्ने सम्भावना क्षीण बन्दै गएको छ । ललितपुरे टिमको ५ खेलबाट ६ अंक भएको छ भने शीर्षस्थानको मनाङसँग ७ अंकले पछि परेको छ । एनआरटीको पनि ६ अंक नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्