फुटबल विजेता खेलाडीलाई नगर परिक्रमा



हेटौंडा, (नेस) ।

प्रथम अन्तरपालिका फुटबल प्रतियोगितामा प्रथम भएको थाहा नगरपालिकाका खेलाडी टोलीलाई नगर परिक्रमासहित सम्मान गरिएको छ । प्रतियोगिता विजेता थाहा नगरपालिकाका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगरपालिका कार्यालयले सम्मान गरेको हो ।

नगर कार्यपालिका कार्यालयपरिसर इन्द्रायणी चौरमा थाहा नगर खेलकुद विकास समिति संयोजक राजेश केसीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगर प्रमुख लवशेर विष्टले खेलाडीलाई सम्मान गर्दै खेल क्षेत्रले थाहा नगरको पहिचान गराएकोमा खुसी व्यक्त गरे । विष्टले आगामी दिनमा नगरले खेल क्षेत्रको विकास गर्न योजना बनाएर अघि बढ्ने बताए ।

सम्मान कार्यक्रममा टोली कप्तान सुमन विष्टले आफूहरूलाई नियमित तालिमको व्यवस्था भए थाहा नगरले फुटबल खेलको अझै प्रगति गर्ने धारणा व्यक्त गरे । कार्यक्रममा टिम प्रशिक्षक नरेन्द्र मोक्तान, टिम व्यवस्थापक अनिल लामिछानेलगायत खेलाडीलाई प्रशंसापत्र प्रदान गरिनुका साथै विजेता टोलीलाई नगरका मुख्य बजार परिक्रमा गराइएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको व्यवस्थापनमा मंसिर १८ देखि २५ गतेसम्म हेटौंडामा प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्