म्याराडोना सुपर कप हुने



लन्डन, (एजेन्सी) ।

युरो कप फुटबल २०२१ का विजेता इटाली र कोपा अमेरिका फुटबल २०२१ विजेता अर्जेन्टिनाबीच ‘म्याराडोना सुपर कप’ फुटबल हुने भएको छ । अर्जेन्टिनाका दिवंगत खेलाडी डिएगो म्याराडोनाको सम्झनामा यी दुई महादेशका ठूलो प्रतियोगिताका उपाधि च्याम्पियनबीच यो खेल आयोजना गरिन लागेको हो ।

यो प्रतियोगिता आयोजना गर्न युईएफए र दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल) दुवैले सहमति गरेर एकसाथ आयोजनाको तयारी गरेका हुन् । यस खेललाई फिफाले पनि आयोजना गर्न स्वीकृति दिइसकेको छ । बुधबार राति युईएफए र कोन्मेबोल दुवैले एकसाथ प्रेस नोट जारी गरेर यो खेल हुने मिति तय गरेका हुन् । गत वर्ष दिवंगत भएका अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाको स्मृतिमा आयोजना हुने यो प्रतियोगिताको नाममा ‘म्याराडोना सुपर कप’ राखिएको छ ।

युईएफए र कोन्मेबलले जारी गरेको प्रेस नोटअनुसार यो खेल सन् २०२२ को जुन १ तारिखमा हुनेछ । यो खेल इंग्ल्यान्डको लन्डन सहरमा आयोजना हुने निर्णय भएको छ । तर, खेल हुने रंगशाला र समय भने तय हुन बाँकी छ । युईएफए र कोन्मेबोल दुवैले यो खेल अर्को वर्षको जुन १ तारिखमा आयोजना गर्न सहमत भएका छन् । साथै, इटाली र अर्जेन्टिनाको सरकारले पनि यो खेलका लागि स्वीकृति प्रदान गरेका छन् ।

विश्व फुटबलका एक महान् खेलाडी म्याराडोनाको गत वर्ष हृदयघातका कारण निधन भएको थियो । उनकै स्मृतिमा यो खेल आयोजना गर्न लागेको हो । कोन्मेबलले यो खेलका लागि प्रस्ताव युईएफए समक्ष पठाएपछि दुई निकायबीच छलफल शुरू भएको थियो । अहिले यो खेलका लागि फिफाले पनि अनुमति दिएको छ । तर, यो मैत्रीपूर्ण खेल नै हुनेछ ।

यस वर्ष आयोजना भएको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युरो कपको उपाधि इटालीले जितेको थियो भने कोपा अमेरिका अर्जेन्टिनाले जितेको थियो । अब यी दुई ठूला र च्याम्पियन देश म्याराडोना सुपर कपमा भिड्ने भएका छन् । यो खेललाई एक आइकनिक प्रतियोगिताका रूपमा चर्चा गरिएको छ । पहिलो संस्करणमै विश्व फुटबलका दुई शक्ति राष्ट्र भिड्ने भएकाले फुटबलप्रेमीका लागि पनि यो खेल प्रतीक्षाको खेल बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्