दीप र स्वेच्छाको जोडी पहिलो



काठमाडौं ।

नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो भएका छन् । आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको भैसेपाटीस्थित हलमा भएको फाइनलमा दीप र स्वेच्छाको जोडीले नेपाल प्रहरीका स्यान्टु श्रेष्ठ र मञ्जु सुवालको जोडीलाई ७–११, ९–११, ११–३, १२–१० र ११–४ को सेटमा पराजित गरे । आर्मीका रविना महर्जन र कुशल न्याछों तथा एपीएफका अनिता महर्जन र राजवि चिकबन्जारको जोडी तेश्रो भए ।

यु–१६ ब्वाइज सिंगल्समा न्यु होराइजनका प्रवेश बस्नेतले स्वर्ण जिते । उनले फाइनलमा केज एकेडेमीका विशाल गोललाई ३–२ ले हराए । गार्गी एकेडेमीका प्रिन्स थापा र एनिस पिङपोङ क्लबका एड्रियन शाही तेश्रो बने । सोही स्पर्धाको गल्र्समा आर्मीकी दिया देउला च्याम्पियन बनिन् । फाइनलमा दियाले आर्मीकै सुस्मिता खड्कालाई ३–१ को सेटमा पाखा लगाइन् । एपीएम क्लबकाद्वय योङगी पौडेल र अनामिका कस्ती संयुक्त रूपमा तेश्रो भए ।

प्रतियोगिताको सह–प्रायोजक पूर्णशंकर श्रेष्ठले एक कार्यक्रबीच उद्घाटन गरे । ८ स्पर्धा समावेश प्रतियोगितामा ३ सय ५० खेलाडी सहभागी छन् । सबै स्पर्धाका पदक विजेतालाई सिओम टेबलटेनिस नेपालद्वारा प्रायोजित ५ लाख रूपैयाँ बराबरको टेबलटेनिस खेल सामाग्री पुरस्कार स्वरूप पाउनेछन् । पुरुष÷महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

प्रतिक्रिया दिनुहोस्