क्यानको कारबाहीमा कप्तान र उपकप्तान



काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अपरिपक्व काम गरेको भन्दै राष्ट्रिय टिमको कप्तानी छिनेको छ । कप्तान मल्लका साथै उपकप्तान दीपेन्द्रसिंह ऐरीको पद पनि खोसिएको छ । क्यानले विश्व चर्चित लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली क्रिकेट टिमका नयाँ कप्तानमा नियुक्तसमेत गरेको छ । सन्दीप हाल अस्ट्रेलियामा जारी बिग बाश टी–२० क्रिकेट प्रतियोगितामा व्यस्त छन् । उनी होबार्ट हरिकेन्स टिमबाट खेलिरहेका छन् ।

क्यानको बैठकले फास्ट बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि कारबाही गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले जनाएअनुसार उनीहरूले आचारसंहिता उल्लंघन गरेका हुन् । यी चार खेलाडीलाई आगामी २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरुको ६ महिनाको लागि सहभागि नगराउने क्यानको निर्णय भएको छ ।

कार्यवाहक सचिव मल्लले बताएका थिए कि ज्ञानेन्द्रले कप्तानी भएर पनि भित्रि कुरा मिडियामा बोल्नु अपरिपक्वताको काम गरेका छन् । उनले कप्तान भएर सबै खेलाडीलाई मिलाउनुपर्ने तर, यसो नगर्नाले कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गर्नुपरेको क्यानको भनाइ रहेको छ ।

क्यानसँग सम्झौता गरेको पत्रमा आर्टिकल ३.३.१ मा स्पष्ट लेखिएको छ कि क्यानको अनुमतिविना, आईसीसी, एसिया र मिडियामा जाँदैन । यसरी स्पष्ट लेखिए पनि ज्ञानेन्द्रसहित चार खेलाडीले मिडियामा बोलेका थिए । उनीहरूले खेलाडी वर्गीकरणमा असहमति जनाएका थिए ।

क्यानले उनीहरूलाई स्पष्टीकरण दिन लगाए पनि क्यानलाई उनीहरूको स्पष्टीकरणमा दिएको तर्क चित्त बुझेको थिएन । दुई पटक–पटक स्पष्टीकरण दिएका उनीहरू अन्ततः कारबाहीमा परेका छन् । क्यानले स्पष्ट पारेको छ कि अनुशासनहिन बनेका खेलाडीलाई कारबाही गर्नुपर्ने संस्थाको कर्तव्य हो । त्यो चाहे कप्तान होस या चर्चित खेलाडी नै किन नहोस् संस्थाविरुद्ध जानु कारबाहीमा पर्नेछ ।

ज्ञानेन्द्र २०७६ असोजमा राष्ट्रिय टिमका कप्तान भएका थिए । पारस खड्काले कप्तानी पद छाडेपछि उनी टिमका कप्तान बनेका थिए । गत असोजमा ज्ञानेन्द्रले आईसीसी विश्वकप लिग २ क्रिकेटमा नेपालको नेतृत्व गरेका थिए । उनको नेतृत्वमा नेपालले ओमान र अमेरिकासँग ओडीआई सिरिज खेलेको थियो । उक्त सिरिजमा नेपालले औसत नतिजा आत्मसात् गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्