बागमती प्रदेशस्तरीय जुनियर तेक्वान्दो हुँदै



काठमाडौं ।

जैशीदेवल युथ क्लबको आयोजनामा बागमतीस्तरीय दोश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष राजेश प्रजापतिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीको पुरुष/महिलामा समान ८–८ गरी १६ स्पर्धामा भिडन्त हुने छ । पुम्सेतर्फ पुरुष/महिलामा ४ स्पर्धामा खेल हुने छ ।

प्रतियोगितामा आयोजकको २ सहित २० टिमका ४ सय खेलाडीको सहभागिता रहने क्लबका सदस्यसमेत रहेका प्रचार–प्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी गराए । मुख्य प्रायोजक काठमाडौं महानगरपालिकाले प्रतियोगितका लागि ४ लाख बजेट उपलब्ध गराउने भएको छ । नगद पुरस्कारबाहेक प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ ।

पुरुष/महिला उत्कृष्ट फाइटरले १ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट पुरुष/महिला पुम्से खेलाडी, उत्कृष्ट पुरुष/महिला निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही १ सय अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिने छ । यो विधाको पुरस्कार अमेरिकामा बस्दै आएका सुधोधनमान रञ्जित र रीता श्रेष्ठ रञ्जितले प्रायोजन गर्ने भएका छन् ।

त्यस्तै, हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५ सय र समान १/१ हजार नगद पुरस्कार दिइने छ । सो पुरस्कारको राशी अमेरिकामै बस्ने नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले उपलब्ध गराउनेछन् । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्