सिओमद्वारा पाँच लाखको खेल सामग्री प्रायोजन



काठमाडौं ।

सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रालि लाई ५ लाख रुपैयाँ बराबरको खेल सामग्री प्रदान गरेको छ । एपीएफको आयोजनामा बिहीबारदेखि हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहनस्वरूप खेल सामग्री प्रदान गर्न सामग्री दिइएको हो ।

सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई बुधबार एक कार्यक्रमबीच खेल सामग्री हस्तान्तरण गरे । प्रतियोगितामा पुरुष/महिला सिंगल्ससहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबै स्पर्धाका विजेतालाई प्रोत्साहनस्वरूप खेल सामग्री पुरस्कारका रूपमा दिइने निर्देशक महताले जनाएका छन् । पुरुष/महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय–२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रिला डेभलोप्मेन्ट बैंक लिमिटेड रहेको छ भने सह–प्रायोजकमा पूर्णशंकर श्रेष्ठ छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफकासहित जम्मा ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरू भैंसेपाटीमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस्