बोकालाई म्याराडोना कप उपाधि



लन्डन, (एजेन्सी) ।

स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै अर्जेन्टिनाको क्लब बोका जुनियर्सले पहिलो संस्करणको म्याराडोना कपको उपाधि जितेको छ । बुधबार राति भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको घरेलु क्लब बोका जुनियर्सले पाहुना टोली बार्सिलोनालाई पेनाल्टी सुटआउटमा ४–२ को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

म्याराडोना कप अर्जेन्टिनाका दिवंगत महान् खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको सम्झनामा शुरु गरेको मैत्रीपूर्ण प्रतियोगिता हो । पहिलो संस्करण साउदी अरेबियाको रियादमा रहेको किङ साउद युनिभर्सिटी रंगशालामा भएको खेलमा बार्सिलोना पेनाल्टी सुटआउटमा स्तब्ध बन्यो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको निर्णय सोझै पेनाल्टी सुटआउटमार्फत भएको थियो । जसमा बोकाले बाजी मार्न सफल भयो ।

चर्को प्रतिस्पर्धा देखिएको खेलमा पहिलो हाफमा दुवै तर्फबाट गोल भएन । दोस्रो हाफमा पहिला बार्सिलोनाले गोल गरेर अग्रता बनायो । युवा खेलाडी फेर्रान जुटल्गा ब्लास्नले गोल गरेर अग्रता दिलाए । त्यसपछि ७७औं मिनेटमा बोका जुनियर्सका लागि एक्सक्विेल जेबाल्लसले गोल गरेर खेल १–१ को बराबरी बनाएका थिए । त्यसपछि ९० मिनेटभित्र हार–जित नभएपछि खेल सोझै पेनाल्टी सुटआउटमा गयो ।

पेनाल्टी सुटआउमा बार्सिलोनाका दुई जना खेलाडी असफल भएपछि बोका उपाधि च्याम्पियन बन्यो । शुरुआती दुई–दुई पेनाल्टीमा दुवै टिमका खेलाडीले गोल गरे । बार्सिलोनाका लागि पहिलो पेनाल्टी ड्यानी आल्भेस र दोस्रो पेनाल्टी गोलकर्ता फेर्रान जुट्ल्गा ब्लान्सले गोल गरे भने बोकाका लागि मार्को रोजो कार्लोसले गोल गरे । त्यसपछि, बोकाका लागि तेस्रो पेनाल्टी क्रिस्टिएन पाभोनले गरे भने बार्सिलोनाका खेलाडी लगातार दुई पेनाल्टीमा गोल गर्नबाट चुके ।

बार्सिलोनाको तेस्रो पेनाल्टी माथेउस पेरेयिले खेर फाले भने चौथो पेनाल्टीमा गुलियम जिमी असफल भए । अर्कोतिर बोकाका तर्फबाट चौथो पेनाल्टीमा आरोन मोलिनाजले गोल गरेपछि पाँचौं पेनाल्टीमा नपुगी बोका जुनियर्सले खेल २–४ ले जित्न सफल भयो । यस खेलमा बार्सिलोनाका प्रशिक्षक जाभीले केही सिनियर टोली खेलाडी र टिम ‘बी’ का खेलाडीलाई समेट्दै टोली घोषणा गरेका थिए । तर, युरोपियन च्याम्पियन्स लिग फुटबलबाट आउट भएर युरोपा लिगमा झरेपछिको पहिलो खेलमा बार्सिलोनाले हार पन्छाउन सकेन ।

प्रतिक्रिया दिनुहोस्