म्याराडोनाको चोरिएको घडी आसाममा फेला पर्‍यो



नयाँ दिल्ली, (एजेन्सी) ।

दिग्गज फुटबलर डिएगो म्याराडोनाको चोरिएको घडी आसामको शिवनगरबाट बरामद गरिएको छ । खबरअनुसार स्वर्गीय म्याराडोनाको सो घडी दुबईमा चोरिएको थियो । आसामको प्रहरीको अनुसार सो घटनासम्बन्धमा एक जनालाई पक्राउ गरिएको थियो । प्रहरीले सो व्यक्ति दुबईमा एक कम्पनीमा सुरक्षाकर्मी रहेको बताएका थिए । उक्त कम्पनीले म्याराडोनाको सामान संरक्षण गरिरहेको थियो ।

वाजिद हुसेन नामका आरोपी म्याराडोनाको हुब्लो घडी चोरेर अगस्टमा आसाम फर्केका थिए । म्याराडोनाको घडी चोरिएको सूचना दुबईका प्रहरीले भारतीय प्रहरीलाई खबर गरेका थिए । खोजतलास गरेपछि आसामका प्रहरीले ती आरोपीलाई उनको ससुराली घरबाट पक्राउ गरेको थियो । म्याराडोनाको गत वर्ष नोभेम्बरमा ६० वर्षको उमेरमा निधन भएको थियो ।

म्याराडोनाले फिफा विश्वकप २०१० दौरान दुईवटा हुब्लो बिग ब्यांग घडी लगाएको देखिएको जनाएको थियो । घडीमा उनको फोटो रहेको छ । उनले जितको संकेत गर्दै हात उठाएका थिए । घडीमा उनको हस्ताक्षर र जर्सीको अंक रहेका छन् ।

उनले सधैं दुवै नाडीमा घडी लगाएका हुन्थे । एउटा घडी उनलाई उनकी छोरीले उपहारस्वरूप दिएकी थिइन् । त्यस दिनदेखि उनले दुवै नाडीमा घडी लाउन थालेका थिए । उनको एउटा घडीमा अर्जेन्टिनाको समय हुन्थ्यो भने अर्को घडीमा स्थानीय समय निर्धारित गरिएको हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्