थ्रीस्टारको अर्को निराशाजनक प्रदर्शन



काठमाडौं ।

नेपाली फुटबलमा निकै चर्चित रहेका क्लबमध्ये एक थ्रीस्टार क्लबले जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगमा निराशाजनक प्रदर्शन यथावत् राखेको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टार विभागीय टिम नेपाल एपीएफ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । यो सँगै ललितपुर टिमको चार खेलबाट ५ अंक भएको छ ।

लिग शुरू हुनअघि उपाधि दाबेदारीमा रहेको थ्रीस्टारले जारी लिग गतिलो प्रदर्शन गर्न सकेको छैन । पहिलो खेलमा च्यासल युवा क्लबलाई ३–० ले हराए पनि सो खेलमा पनि कुनै मुभ रहेको थिएन । यद्यपि, खेल जितेर लिगमा सुखद शुरुवात गरेको थ्रीस्टारलाई दोस्रो खेलमा छिमेकी टिम सातदोबाटो युवा क्लबले झट्का दिएको थियो । पहिलोपटक ‘ए’ डिभिजन लिग खेलिरहेको सातदोबाटोले थ्रीस्टारलाई १–० ले स्तब्ध तुल्याएको थियो ।

तेस्रो खेलमा थ्रीस्टारलाई फ्रेन्डस् क्लबले १–१ बराबरीमा रोकेको थियो । चौथो खेलमा यो टिमलाई एपीएफले रोकेको छ । अनन्त तामाङले केही गोल गर्ने अवसर पाएका थिए । तर, उनले क्लोज रेन्जमा गोल गर्ने मौकालाई खेर फाल्नु पनि टिमको लागि जित हुन नसकेको थियो । यो नतिजापछि थ्रीस्टार प्रमुख प्रतिद्वन्द्वी टिमहरूसँग पछि परेको छ ।

उता एपीएफले जारी लिगमा पहिलोपटक अंक जोडेको छ । खेलभरि एपीएफले थ्रीस्टारको डिफेन्स छताछुल्ल पारे पनि गोल भने गर्न सकेको थिएन । आशिष लामा, नवीन लामाले केही गोल गर्ने अवसर गुमाएका थिए । तर पनि एपीएफले थ्रीस्टारसँगको लगातार हारको क्रमलाई रोक्न सफल भएको छ । २०६८ मा एपीएफले थ्रीस्टारलाई ४–० ले हराएको थियो । त्यसपछि भने एपीएफमाथि थ्रीस्टार हावी हुँदै आएको थियो ।

जारी लिगमा एपीएफको प्रदर्शन पनि खासै राम्रो भएको छैन । एपीएफले पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ को हार बेहोरेको थियो । दोस्रो खेलमा एपीएफले च्यासललाई १–० नतिजा सुम्पिदा तेस्रो खेलमा सातदोबाटोसँग फराकिलो हार बेहोर्न पुगेको थियो । उक्त खेलमा एपीएफ ४–१ ले हारेको थियो । एपीएफले अंक जोडेपछि जारी लिगमा अंक जोड्न नसकेको टिम जावलाखेल युथ क्लब एउटै टिम मात्रै रहेको छ । जावलाखेलले आज ब्रिगेड ब्वाइजसँग अंक लिनको लागि खेल्नेछ । आजै हुने अर्को खेल संकटा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्