टाइगर कपमा दुई नयाँ टिम थपिँदै

0
Shares

पोखरा ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा आगामी पुस २६ गतेदेखि दोस्रो संस्करणको टाइगरकप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुँदैछ । पहिलो संस्करणमा नै लोकप्रियता पाएको टाइगर कपको दोस्रो संस्करण पनि अझ रोमाञ्चक बन्ने देखिएको छ । दोस्रो संस्करणमै पुरस्कार राशि समेत दोब्बर वृद्धि गरिएको टाइगरकपमा यो वर्ष आयोजकको महिला टोलीको पनि सहभागिता रहेको छ भने पुरुषतर्फ हेल्प नेपालको पनि सहभागिता रहने भएको छ । पहिलो संस्करणमै ठूलो सफलता हात पारेको प्रतियोगिताले यो वर्ष थप विशेषताहरू बोक्दै प्रतियोगिताको आयोजना गर्न लागि रहेको छ ।

शनिबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिँदै टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले आगामी पुस २६ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनले यो वर्ष पुरुषतर्फ हेल्प नेपाल स्र्पोट्स र महिलातर्फ आयोजकको टिम थपिएको बताएका हुन् । उनले पोखरालाई भलिबलको केन्द्र विन्दु बनाउँदै प्रदेशबाट राष्ट्रिय खेलाडी उत्पादन गर्नु ग्रुपको मुख्य उद्देश्य रहेको बताए ।

टाइगरकप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप पुरुष/महिला भलिबल प्रतियोगिता २०७८ मा कुल १० टिमको सहभागिता हुँदैछ । प्रतियोगितामा महिलातर्फ ५ र पुरुषतर्फ ५ टिमको सहभागिता रहने आयोजित पात्रकार सम्मेलनमा शर्माले जानकारी दिए । महिलातर्फ गतवर्षको च्याम्पियन विभागीय क्लब नेपाल पुलिस क्लबसहित आयोजक टाइगर ग्रुप अफ पोखरा, नेपाल आर्मी, शसस्त्र प्रहरी र न्यु डायमन्डको सहभागिता रहनेछ । यस्तै, पुरुषतर्फ गतवर्षको च्याम्पियन गण्डकी प्रदेशसहित विभागीय क्लब नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरी तथा हेल्प नेपाल स्पोट्र्सको सहभागिता रहने छ ।

राउन्ड रोविन लिगका आधारमा खेलाइने प्रतियोगितको विजेताले महिला/पुरुष दुवैतर्फका टिमले नगद ३/३ लाख तथा उपविजेताले नगद १ लाख ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले समान ७५/७५ हजार तथा सान्त्वना टिमले समान ३५–३५ हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महिला/पुरुष दुवैले समान २५/२५ हजार रुपियाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्लकर, सेटर, सर्भर, ब्लकर र प्रशिक्षकले समान १०/१० हजार रुपियाँ प्राप्त गर्नेछन् ।