जारी लिगमा मच्छिन्द्रको शानदार जित



नेपाल समाचारपत्र, काठमाडौं

जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार मच्छिन्द्र क्लबले शानदार जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले हराएको हो । टिमको जितमा सुनील बल, नुर्लान नोभुजोभ र बिमल घर्तीमगरले गोल गरेका हुन् । पहिलो हाफमा एक गोल र दोस्रो हाफमा दुई गोल गरेको मच्छिन्द्र यो जितसँगै शीर्ष स्थानमा समेत उक्लियो ।

डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले चार खेलमा तीन जित र एकमा बराबरी नतिजा बेहोर्दै १० अंक जोडेको छ । यति नै अंक जोडेको मनाङ मस्र्याङदी क्लब गोलभिन्नताको आधारमा दोस्रो स्थानमा चिप्लिएको छ । अंकतालिकामा यी दुई टिमलाई पच्छाइरहेको त्रिभुवन आर्मी क्लब ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

मच्छिन्द्रले हिजो सन्तुलित खेल देखाएको थियो । आक्रामकसँगै डिफेन्स पनि बलियो बनाउँदा विपक्षी टिम हिमालयन शेर्पालाई नियन्त्रणमा राख्न सफल भएको थियो । हिमालयन शेर्पाका लागि यो नतिजाले गर्दा जारी लिग खराब बनिरहेको छ । हिमालयन शेर्पाले चार खेलमा २ मा हार र २ मा बराबरी खेल्दै मात्र २ अंक जोडेको छ ।

मच्छिन्द्रका लागि सुनीलले २२ औं मिनेटमै गोल गरेर १–० को अग्रता दिलाएका थिए । डिफेन्डर नुरेन करिमले गरेको फ्रिकिक प्रहारमा सुनीलले गोल गरेका थिए । हिमालयनका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा उनले वान टचमा सहजै जाली चुमाएका थिए । जारी लिगमा यो उनको तेस्रो गोल थियो ।

पहिलो हाफमा गोल गर्न चुकेका नुर्लानले दोस्रो हाफमा कुनै गल्ती गरेनन् । उनले ६७ औं मिनेटमा गोल गरेर टिमलाई २–० को अग्रतामा राखेका थिए । यो गोलले मच्छिन्द्रको जित सुनिश्चित पनि भएको थियो । पहिलो हाफमा नुर्लानले खेलको ११ औं मिनेटमा गरेको प्रहार क्रसबारमा ठोक्किएको थियो । यसपछि सब्सिच्युट खेलाडी बिमलले टिमको तेस्रो गोल गरेका थिए । दुई गोलले पछि परेको हिमालयन शेर्पा दबाबमा आएको अवस्थामा उनले गोल गरेका थिए । ७३ औं मिनेटमा मनिष डाँगीलाई सब्सिच्युट गरेका बिमलले इन्जुरी समयमा आन्द्रेस नियालेको पासलाई सदुपयोग गरेका थिए ।

एनआरटीको पहिलो जित
शनिबार भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले जित हासिल गरेको थियो । यो एनआरटीको जारी लिगमा पहिलो जितसमेत थियो । एनआरटीले स्टेफन समिर विनोङको निर्णायक गोलमा सातदोबाटो युवा क्लबलाई १–० ले हराएको थियो । विनोङले दोस्रो हाफ शुरू भएलगत्तै गोल गरेका थिए ।

एनआरटीको ४ खेलबाट ५ अंक भएको छ । यसअघि एनआरटीले मच्छिन्द्रसँग हार बेहोरेको थियो । अघिल्ला दुई खेलमा भने टिमले बराबरी खेलेर २ अंक जुटाएको थियो । उता ललितपुरको टिम सातदोबाटोको भने ४ खेलबाट ७ अंक रहेको छ । यो सातदोबाटोको जारी लिगमा पहिलो हारसमेत थियो ।

आज थ्रीस्टार र एपीएफ भिड्दै
जारी लिगको चौथो चरणको खेलअन्तर्गत आज एउटा खेल मात्रै हुनेछ । थ्रीस्टार र एपीएफले जितको लागि प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टारले यसअघिको खेलमा राम्रो नतिजा निकाल्न सकेको थिएन । पहिलो खेलमा च्यासललाई ३–० गोलअन्तरले हराएर राम्रो सुरुआत गरेको थ्रीस्टार यसपछि सातदोबाटोसँग १–० ले हारेको थियो । अघिल्लो चरणको खेलमा थ्रीस्टारलाई फ्रेन्डस्ले बराबरीमा रोकेको थियो ।

विभागीय टिम एपीएफको लागि भने यो खेल जित्नै पर्ने दबाबका साथ खेल्नुपर्ने हुन्छ । अघिल्ला तीन खेलमा पराजित बेहोरेको एपीएफ अंक तालिकाको अन्तिम तथा १४ औं स्थानमा रहेको छ । एपीएफलाई सातदोबाटो, ब्रिगेड ब्वाइज र च्यासलले हराएको हो । एपीएफका लागि संजोग यो छ कि अहिलेसम्म ललितपुरको टिमसँग लगातार खेल्नु परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्