शीतलहरबाट ५० हजार प्रभावित !



राजविराज ।

शीतलहरबाट सप्तरीमा यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट तयार पारेको ‘शीतलहर आकस्मिक योजना–२०७८’ अनुसार हिउँदोको मंसिर महिनादेखि फागुनसम्म ५ हजार विपन्न परिवारका ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमकाअनुसार सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिकामा १ हजार ५० परिवारका १० हजार ५ सय व्यक्ति प्रभावित हुन सक्ने छन् भने सबैभन्दा कम रुपनी गाउँपालिकामा ५० परिवारका ५ सय व्यक्ति शीतलहरबाट प्रभावित हुन सक्ने योजनामा समेटिएको छ ।

यसै गरी, तिलाठी कोइलाडी गाउँपालिकामा ४ सय ५० परिवारका ४ हजार ५ सय, छिन्नमस्ता गाउँपालिकामा ३ सय ७५ परिवारका ३ हजार ७ सय ५०, तिरहुत गाउँपालिकामा ३ सय ५० परिवारका ३ हजार ५ सय, राजगढ गाउँपालिकामा पनि ३ सय ५० परिवारका ३ हजार ५ सय व्यक्ति प्रभावित हुन सक्ने छन् । डाकनेश्वर नगरपालिकामा ३ सय ५० परिवारका ३ हजार ७ सय ५०, कञ्चनरूप नगरपालिका र बलान विहुल तथा महादेवा गाउँपालिकामा २ सय ५० परिवारका दरले २५ सय २५ सय व्यक्ति प्रभावित हुन सक्छन् ।

यसै गरी, सदरमुकाम राजविराज र खडक नगरपालिमा २–२ सय परिवारका २–२ हजार, छिन्नमस्ता गाउँपालिकामा १ सय ७५ परिवारका १ हजार ७ सय ५० व्यक्ति प्रभावित हुन सक्ने योजनामा समेटिएको छ ।

योजनाअनुसार सप्तकोशी, सुरुंगा र बोदे बरसाइन नगरपालिका तथा विष्णुपुर गाउँपालिकामा १ सय ५० परिवारका १५–१५ सय र शम्भुनाथ नगरपालिकामा १ सय परिवारका ५ सय व्यक्ति शीतलहरबाट प्रभावित हुन सक्छन् ।

शीलतहरबाट सर्वसाधारणलाई जोगाउनका लागि सबै स्थानीय तह र सरोकारवालाहरुसँग समन्वय गरेर पहिले नै न्यानो कपडा, इन्धन, दाउरा वितरण गर्ने, एफएमहरुबाट जनचेतनामूलक सामग्री प्रसारण गर्ने, शीतलहर पूर्वतयारी कार्यशाला सञ्चालन गर्ने/गराउने लगायतका कार्यहरु गर्ने योजनामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्