काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।
कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ११३ रनमै समेटिएपछि कर्णालीले जित निकालेको हो। कर्णालीको जितमा युनिस ठकुरी र हुसेन तलातले उत्कृष्ट बलिङ गर्दै समान तीन–तीन विकेट लिए। युनिसले चार ओभरमा २२ रन खर्चिए भने हुसेनले २६ रन दिए।
त्यस्तै, नन्दन यादवले दुई विकेट लिए। उनले २.३ ओभरमा १३ रन खर्चेर ललित राजवंशीलाई बोल्ड गर्दै जनकपुरको अन्तिम विकेट झारे। सोमपाल कामीले पनि एक विकेट आफ्नो नाममा गरे।
जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। मोइन अली र कप्तान हर्मित सिंहले समान १९ रन जोड्दा जिमी निशम १५ र मयन यादव १४ रनमा आउट भए।
अनिल साहले ११ तथा कुशल परेराले ६ रन बनाए। ललित राजवंशी र तृतराज दासले समान एक रन जोड्दा आदित्य महता खाता नखोली आउट भए। राहुल यादव एक रनमा अविजित रहे।
कर्णालीका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदै जनकपुरलाई लक्ष्यसम्म पुग्न दिएनन्। यससँगै कर्णालीले एनपीएलको आफ्नो पहिलो खेलमै जित दर्ता गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।











प्रतिक्रिया