चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिमका उपकरण सहयोग


काठमाडौं।

नेप्लीज डक्टर्स एसोसिएसन यूके (एनडीए यूके)ले रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेपालका चार स्वास्थ्य संस्थालाई शल्यक्रियासम्बन्धी व्यावहारिक सीप विकासका लागि आवश्यक तालिम उपकरण सहयोग गरेको छ।

उपकरण प्राप्त गर्ने संस्थामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र लुम्बिनी मेडिकल कलेज टिचिङ हस्पिटल, पाल्पा रहेका छन्।

वीर अस्पतालमा मंगलबार आयोजित हस्तान्तरण कार्यक्रममा न्याम्सका उपकुलपति प्राडा विवेक आचार्य, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा सूर्यमान मेयाङ्वो तथा उपकरण प्राप्त गर्ने अन्य स्वास्थ्य संस्थाका प्रतिनिधिहरू सहभागी थिए। कार्यक्रममा एनडीए यूकेका उपाध्यक्ष डा आशिषकिरण श्रेष्ठ, महासचिव डा पारुल श्रेष्ठ, पूर्वअध्यक्ष प्राडा फौदराज थेवे, डा प्रदीप बस्न्यातलगायतको उपस्थिति थियो।

रोटरी क्लब अफ काष्ठमण्डपका अध्यक्ष शैलेश वैद्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्की, प्राडा मनोहरलाल श्रेष्ठलगायत स्वास्थ्य क्षेत्रका प्रतिनिधि तथा रोटरीका सदस्य सहभागी थिए।

आधुनिक शल्यक्रिया प्रविधिमा चिकित्सकको व्यावहारिक सीप अभिवृद्धि गर्ने, चिकित्सा शिक्षालाई प्रभावकारी बनाउने र बिरामीलाई सुरक्षित तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले उपकरण प्रदान गरिएको आयोजकले जनाएको छ।

शल्यक्रियाको अभ्यासका लागि इन्डोट्रेनर
सहयोग गरिएका उपकरणमध्ये इन्डोट्रेनर ल्याप्रोस्कोपिक शल्यक्रियाको अभ्यासका लागि प्रयोग गरिने सिमुलेसन उपकरण हो। यसले चिकित्सकलाई वास्तविक बिरामीमा शल्यक्रिया गर्नुअघि नियन्त्रित वातावरणमा उपकरण सञ्चालन, हातको समन्वय र प्राविधिक सीप अभ्यास गर्ने अवसर प्रदान गर्छ।

ल्याप्रोस्कोपिक शल्यक्रियामा पेटमा साना चिरा बनाएर विशेष उपकरण र क्यामेराको सहायताले शल्यक्रिया गरिन्छ। यस्तो प्रविधिमा दक्षता हासिल गर्न नियमित अभ्यास र उपकरण सञ्चालनसम्बन्धी सीप आवश्यक हुन्छ।

न्याम्सका उपकुलपति प्राडा आचार्यले इन्डोट्रेनरजस्ता उपकरणले चिकित्सकको हातको सीप, उपकरण सञ्चालन क्षमता र व्यावहारिक दक्षता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए। उनका अनुसार यस्ता उपकरणको प्रभावकारी प्रयोगले शल्यक्रिया तालिमलाई थप व्यवस्थित बनाउन मद्दत गर्नेछ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा मेयाङ्वोले प्राप्त उपकरणको प्रभावकारी उपयोग गरी शल्यक्रिया तालिमलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने बताए। दुर्गम क्षेत्रमा सेवा प्रदान गर्ने चिकित्सकलाई पनि गुणस्तरीय तालिमको उत्तिकै आवश्यकता पर्ने उल्लेख गर्दै उनले कर्णालीका लागि समेत उपकरण उपलब्ध गराएकोमा एनडीए यूकेप्रति आभार व्यक्त गरे।

एनडीए यूकेका पूर्वअध्यक्ष डा थेवेले चिकित्सकको सीप अभिवृद्धिमार्फत बिरामीले सुरक्षित, प्रभावकारी र गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

एनडीए यूकेका महासचिव डा पारुल श्रेष्ठले बेलायतमा रहेका नेपाली चिकित्सकले नेपालको स्वास्थ्य सेवा सुधारमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उपकरण हस्तान्तरण त्यसैको पछिल्लो उदाहरण भएको बताइन्।

एक दशकभन्दा लामो सहकार्य
कार्यक्रमका विशेष अतिथि रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गभर्नर विष्णुबहादुर कार्कीले एनडीए यूकेले रोटरी क्लब अफ काष्ठमण्डपसँग सहकार्य गरेर नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएकोमा प्रशंसा गरे। उनले रोटरीका सामाजिक गतिविधि सरकारी सेवा तथा सहयोग पर्याप्त रूपमा पुग्न नसकेका समुदायसम्म विस्तार गर्ने उद्देश्यमा केन्द्रित रहने बताए।

कार्कीले रोटरी क्लब अफ काष्ठमण्डपको गतिविधि डिस्ट्रिक्टअन्तर्गतका १६६ क्लबमध्ये उल्लेखनीय रहेको पनि बताए।

कार्यक्रमका सभापति तथा क्लबका अध्यक्ष शैलेश वैद्यले बेलायतमा रहेर पनि नेपाली चिकित्सकहरूले मातृभूमिको स्वास्थ्य सेवा सुधारका लागि देखाएको चासो, सद्भाव र सहयोग प्रशंसनीय रहेको बताए।

उनका अनुसार एनडीए यूकेको सहयोग उपकरण हस्तान्तरणमा मात्र सीमित छैन। चिकित्सा शिविर सञ्चालन, स्वास्थ्यसम्बन्धी तालिम, चिकित्सक तथा स्वास्थ्यकर्मीको क्षमता विकास र सामाजिक कल्याणका कार्यक्रममार्फत पनि संस्थाले नेपालमा योगदान दिँदै आएको छ।

रोटरी क्लब अफ काष्ठमण्डप र एनडीए यूकेबीच एक दशकभन्दा लामो समयदेखि सहकार्य हुँदै आएको छ। पछिल्लो उपकरण सहयोगले चिकित्सा शिक्षा तथा शल्यक्रिया तालिमको व्यावहारिक पक्षलाई सुदृढ बनाउनुका साथै विभिन्न भौगोलिक क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।