नेपालगञ्जमा राणाको भव्य स्वागत



बाँके ।

राप्रपाका नवनिर्वाचित महामन्त्री डा. धवलशमशेर राणालाई गृह शहर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । राप्रपा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृहनगर नेपालगञ्ज आइपुगेका डा. राणालाई स्वागत गर्न नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । उनीहरूले विमानस्थलबाटै फूलमाला र अविर लगाएर स्कटिङ गर्दै पुरानो वीरेन्द्रचोक पुर्याए । जहाँ राणा उत्रिएर ५० किलोको माला ग्रहण गरेका थिए ।

राजतन्त्रको पक्षमा रहेकाले उनीहरू गृहनगर आउँदा वीरेन्द्र राजाको स्मरणमा त्यही उत्रिएर माला लगाएका हुन् । कार्यकर्ताले सम्मानस्वरूप लगाइदिएको माला राणाले वीरेन्द्रचोकमै राख्न चाहन्थे । तर, राजाको शालिक नभएको हुँदा उतारेर फेरि कार्यकर्ता दिए र गाडीमा राखियो ।

हिन्दुवादी भएको हुँदा उनी वीरेन्द्रचोकबाट हिन्दु धर्मको आस्थाको केन्द्र बागेश्वरी मन्दिरको दर्शन गर्दै शहर परिक्रमा गरेका थिए । त्यतिबेला कार्यकर्ताहरू निकै उत्साहित हुँदै आगामी निर्वाचनमा २ नम्बर क्षेत्रबाट विजयी गराउने र पुनः त्यसरी नै माला लगाउने उद्घोष गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डा. राणा यसअघि एमालेबाट पनि मेयरमा निर्वाचित भएका थिए । तर, राजसंस्थाको पक्षमा लाग्न दबाब बढेपछि उनी पुनः राप्रपा प्रवेश गरेका हुन् । छोटो समयमै संस्थापन अध्यक्ष कमल थापाजस्ता प्रभाकशाली नेताको समूहलाई चुनौतीमात्रै दिएनन्, चुनावमा समेत पराजित गरेर गृहनगर फर्किएपछि कमल थापा पक्षधरहरु राणाको अघि पछि लागेको देखिन्थ्यो ।

दुई पटक नेपालगञ्जको मेयर भएका राणाले पार्टीमा समेत बर्चस्व जमाएपछि अब क्षेत्र नं. २ बाट संघमा प्रतिस्पर्धा गर्ने उनीनिकटहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्