रावतको निधनप्रति दुःख व्यक्त



काठमाडौं ।

भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपीन रावतको हेलिकोप्टर दुर्घटनमा निधन भएकोमा नेपाली सेनाले दुःख व्यक्त गरेको छ ।
उक्त दुर्घटनामा उहाँकी श्रीमती मधुलीका रावत तथा अन्य ११ सैनिकको भारतीय वायु सेनाको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति फोन तथा पत्रमार्फत समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले यस दुःखद घटनाबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति पर्नुका साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको उल्लेख गर्दै भारतीय सेना तथा शोक सन्तप्त परिवारप्रति समवेदना तथा दिवगंत आत्माको चिर शान्तिको कामना गर्नुभएको छ ।

साथै, जनरल रावतको आज शुक्रबार नयाँ दिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधानसेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की जानुहुने भएको छ । ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष रहनुभएका जनरल रावतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७, मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गर्नुभएको थियो ।

जनरल रावत १३ फ्रेब्रुअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रिको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा समेत सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्