धुलिखेलमा नेपाल आइस मेयर कप फुटबल प्रतियोगिता


मोतीराम तिमल्सिना, काभ्रे ।

आकाश भैरव क्लबको आयोजनामा मसिर २६ गते देखि धुलिखेल सामुदायिक खेलमैदानमा नेपाल आइस धुलिखेल मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । धुलिखेल नगरपालिकाको सहकार्यमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक सिजी ब्रुअरी प्रा।ली नेपाल रहेको छ भने टाइटल प्रायोजक योङ् ट्यालेन्ट टिम रहेको छ ।

सह प्रायोजक म्याक्स टाईगर इनर्जि ड्रिक, काभ्रे जिल्ला निर्माण व्यवसायी संघ, क्षेत्रीय होटल एसोसिएसन, मनोविनायक साकोस काठमाडौँ, अर्थभूमी साकोस काठमाडौँ, लेखापढी व्यवसायी संघ काभ्रे रहेका छन् । काभ्रे जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने उक्त प्रतियोगितामा विभिन्न संघ संस्थाहरूको सहयोग रहेको छ ।

धुलिखेलका १२ वटै वडाले विद्यागत पुरस्कार सौजन्य गर्ने प्रतियोगिता पौष मसान्तमा सम्पन्न हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्प, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १ लाख सहित शिल्प, मेडल र प्रमाणपत्र उपलब्ध गराइने प्रतियोगिता संयोजक जयोज नरसिं श्रेष्ठले बताउनु भयो ।

उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र म्यान अफ दि म्याच प्राप्त गर्ने खेलाडीहरूलाई नगद ५ हजार सहित शिल्प, मेडल र प्रमाणपत्र उपलब्ध गराउने  श्रेष्ठले बताउनु भयो । फुटबल खेलको विकास, व्यवसायी खेलाडीको उत्पादन र काभ्रे जिल्लाको खेलकुद गतिविधिलाई गतिशील बनाउन प्रतियोगिता हरेक वर्ष आयोजना गरिएको अध्यक्ष सुबल चोच्छेले बताउनु भयो ।

क्लबले यस अघि फुटबल र रग्वी प्रतियोगितामा राष्ट्रिय स्तरसम्ममा सहभागिता जनाएको छ । २०७७ मा जिल्ला लिग फुटबल प्रतियोगितामा विजयी भएको आकाश भैरव क्लबले नगर देखि राष्ट्रिय स्तरका खेलहरुमा सहभागिता जनाउँदै अन्य सामाजिक क्रियाकलापमा पनि सहभागी हुँदै आएको छ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, मुख्य प्रायोजक सिजी ब्रुअरीका प्रतिनिधि  समुन्द्र खत्री, काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास श्रेष्ठ, महासचिव किशोर वरुण, चमन बैद्य, सञ्जिव चोच्छे, कार्यक्रम संयोजक जयोज नर्सिङ्ग श्रेष्ठ, क्लबका उपाध्यक्ष पुकार चोच्छे, रोजन योगल, वडा अध्यक्ष सञ्जय कोँजु लगायतले प्रतियोगिताका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतियोगितामा ए डिभिजन, सी डिभिजन क्लबका समेत गरी काठमाडौँ, भक्तपुर, सिन्धुली र काभ्रे जिल्लाका क्लबहरू २० टिम सहभागी हुँदैछन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।