च्याम्पियन्स लिगमा लेइप्जिगसँग सिटी पराजित



लन्डन, (एजेन्सी) । 

च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गरिसकेको इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लेइप्जिगसँग पराजित भएको छ ।

मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा सिटीलाई लेइप्जिगले आफ्नै घरेलु मैदानमा २–१ गोलअन्तरले हराएको हो । लेइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । सिटीको तर्फबाट रियाद महारेजले एक गोल फर्काए ।रेडबुल एरिनामा भएको खेलको २४औं मिनेटमा सोबोस्लाईको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले कोनरड लेइमेरको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा सिल्भाले गोल गर्दै लेइप्जिगको अग्रता दोब्बर पारे । उनले इमिल फोर्सबर्गको पासलाई सदुपयोग गरेका थिए ।

यता, खेलको ७६औं मिनेटमा महारेजले ओलेक्सन्डर जिन्चेन्कोको पासमा गोल गर्दै सिटीलाई खेलमा फर्कने संकेत दिएका थिए । तर, ८२औं मिनेटमा काइल वाल्कर सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी खेलमा फर्कन सकेन । यो हारको बाबजुद सिटी समूह ‘ए’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । सिटीलाई हराएको लेइप्जिग ७ अंक जोडेर तेस्रो स्थानमा रहँदै युरोपा लिगको लागि छनोट भयो ।

यही समूहको अर्काे खेलमा पीएसजीले क्लब ब्रुगमाथि ४–१ को सानदार जित निकालेको छ । पिएसजीको जितमा लियोनेल मेसी र क्लियन एमबाप्पेले समान दुई–दुई गोल गरे । ब्रुगका माट्स रिट्सले एक गोल फर्काए ।ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित रहेको खेलको दोस्रो मिनेटमा नै पिएसजीले एमबाप्पेको गोलमा अग्रता लिएको थियो । नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षक सिमोन मिग्नोलेटले बचाए पनि रिबाउन्डलाई एमबाप्पेले गोलमा परिणत गरे । उनले ६ यार्ड डीबक्स नजिकबाट डिफेन्डर र गोलरक्षकलाई बिट गरेका थिए ।

त्यसको ५ मिनेटपछि नै एमबाप्पेले घरेलु टोली पीएसजीको अग्रता दोब्बर पारे । एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट खेलेको चलाखीपूर्ण पासलाई एमबाप्पेले भलीमार्फत गोल गरेका थिए । खेलको ३७औं मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई ३–० को अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक मिग्नोलेटले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ६७औं मिनेटमा पाहुना टोलीका लागि माट्स रिट्सले गोल गरे । काउन्टर अट्याकमा बढेको आक्रमणलाई उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचमै गोल गर्दै खेलमा फर्काउने आशा जगाए । तर, ७६औं मिनेटमा पीएसजीले पेनाल्टी पायो । मेसीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि दिइएको पेनाल्टीलाई उनी आफैंले गोलमा परिणत गरे ।जितका बाबजुद पीएसजी दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । पीएसजीले ६ खेलमा तीन जित, दुई बराबरी र एक हारसहित ११ अंक जोड्दै दोस्रो रह्यो । ब्रुग भने ६ खेलमा ४ अंकसहित पुछारमा रह्यो ।

बोरुसियाको जित

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिसकेको जर्मन क्लब बोरुसिया डर्टमन्डले भने समूह चरणको अन्तिम खेलम सानदार जित दर्ता ग-यो । घरेलु मैदानमा डर्टमन्डले १० खेलाडीमा समेटिएको टर्किस क्लब बेसिक्टासलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । डर्टमन्डको जितमा कप्तान मार्काे रिउस र एर्लिङ ब्राउट हालान्डले समान दुई तथा डोनेल मालेनले एक गोल गरे ।

सिग्नल इडुना पार्क जर्मनीमा मंगलबार राति भएको एकपक्षीय खेलमा घरेलु टोलीले खेलको २९औं मिनेटमा मालेनको गोलबाट अग्रता लिएको थियो । खेलको ४३औं मिनेटमा वेलिन्टन सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा डर्टमन्डले उठाउन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कप्तान रिउसले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ५३औं मिनेटमा मामुद दाहुदको पासमा कप्तान रिउसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यसपछिको दुवै गोल युवा स्टार हालान्डको नाममा रह्यो । ६८औं मिनेटमा हालान्डले निको स्कल्जको पासमा गोल गरे भने ८१औं मिनेटमा मामुद दाहुदको पासमा व्यक्तिगत दोस्रो र टोलीको लागि पाँचौं गोल गर्दै डर्टमन्डलाई फराकिलो जित दिलाए ।

जितपछि डर्टमुन्ड समूह ‘सी’ मा ९ अंक जोडेर तेस्रो स्थानमा रहेर छनोटको अन्त्य गरेको छ । पराजित बेसिक्टास अंकविहीन बन्यो । यही समूहको अर्काे खेलमा डच क्लब आयाक्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ४–२ ले पराजित गर्‍याे । आयाक्सको जितमा सेवास्टिन हालेर, एन्टोनी, डेभिड नेरेस र स्टेभन बर्गहुइसले गोल गरे । स्पोर्टिङका लागि नुनो सान्तोस र टावाटाले गोल फर्काए । यो नतिजापछि आयाक्सले समूह चरणमा शतप्रतिशत जित निकाल्दै १८ अंक जोडेर शीर्षस्थान कब्जा गर्‍याे  । हारका बाबजुद स्पोर्टिङ ९ अंक जोडेर दोस्रो स्थानमा रहँदै समूह उपविजेता बन्यो ।

लिभरपुलको शतप्रतिशत नतिजा

इंग्लिस क्लब लिभरपुलले पनि च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जितको नतिजा निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गरेको हो । मिलानोमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहमद सालाह र डिभोक ओरिगीले गोल गरे । घरेलु टोलीका फिकायो टोमोरीले एक गोल फर्काए । जितसँगै लिभरपुल समूह ‘बी’ मा ६ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भयो । लिभरपुलसँगको हारपछि ७ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको एसी मिलानले समूह चरण पार गर्न सकेन ।

घरेलु मैदानमा फिकायो टोमोरीको गोलबाट अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा मिलान पराजित हुन पुग्यो । ३६औं मिनेटमा सलाहले तथा ५५औं मिनेटमा डभोक ओरिगीले गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए ।यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मेड्रिडले पोर्चुगिज क्लब पोर्टाेलाई ३–१ ले पराजित गर्दै समूह उपविजेताको रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

१० खेलाडीमा समेटिएको एट्लेटिकोले ९ खेलाडीमा समेटिएको घरेलु टोली पोर्टाेलाई ३–१ ले पराजित गर्दै समूह ‘बी’ बाट उपविजेताको रूपमा प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमन, एन्जल कोरेआ र रोड्रिगो डि पउलले गोल गरे । पोर्टाेका सर्जियो ओलिभेइराले एक गोल फर्काए ।

रियल समूह विजेता

इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब रियल मेड्रिड समूह विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । घरेलु मैदानमा टोनी क्रुस र मार्काे एसेन्सियोले गोल गरेपछि रियल २–० को सहज जित निकाल्दै समूह विजेता बन्न सफल भएको हो । दुवै टोलीले समूह चरण पार गरे पनि समूह विजेताको छिनोफानो हुने खेलमा रियलले बाजी मारेको हो ।

सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलको १७औं मिनेटमा मिडफिल्डर टोनी क्रुसको गोलबाट रियलले अग्रता लिएको थियो । उनले रोड्रिगोको पासलाई सदुपयोग गरेका थिए । खेलको ६४औं मिनेटमा निकोलो बरेल्ला सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इन्टर समस्यामा परेको थियो । इडर मिलिसाओलाई मुक्का हानेपछि रेफ्रीले उनलाई सीधै रातो कार्ड देखाएका थिए । त्यसअघि, मिलिसाओले उनलाई अनावश्यक फाउल गर्दा उनले पनि पहेलो कार्ड पाएका थिए ।

खेलको ७९औं मिनेटमा सब्सिच्युट विंगर मार्काे एसेन्सियोले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै घरेलु टोली रियलको जित पक्का गरे । उनी ७८औं मिनेटमा रोड्रिगोको स्थानमा मैदान प्रवेश गरेका थिए । यो जितसँगै समूह ‘डी’ मा रियलले ६ खेलबाट १५ अंक जोड्यो ।

रियलले समूहमा एफसी सेरिफसँग मात्रै हार बेहोरेको थियो । पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । सेरिफ ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा साख्तर डोनेस्क दुई अंकसहित पुछारमा रह्यो ।मंगलबार राति नै भएको यसै समूहको अर्काे खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र मोल्दोभाको एफसी सेरिफले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

प्रतिक्रिया दिनुहोस्