सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो



 बैतडी  । 

वाई वाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित दर्ता गरेको छ ।बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ६ विकेटले हराउदैं तेस्रो जित दर्ता गरेको हो ।

यसअघि सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ र कर्णालीलाई १० विकेटले पराजित गरेको थियो । लगातार जितपछि सुदूरपश्चिम ६ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा समेत उक्लियो । आठ अंकका साथ पहिलो स्थानमा लुम्बिनी प्रदेश रहेको छ ।प्रदेश १ ले दिएको ९१ रनको झिनो लक्ष्य सुदूरपश्चिमले ४ विकेटको क्षतिमा ३१ ओभरमा पुरा गर्यो ।

सुदूरपश्चिमका लागि अर्जुन साउँद र बशन्त कार्कीले पाँचौ विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए । २३ रनमा ४ विकेट गुमाएर धर्मराएको सुदूरको पारी सम्हालेका बशन्तले ३७ र अर्जुनले ३२ रन जोडे । प्रदेश १ का अभिनय राजवंशीले दुई र श्रवण किस्कु र अंकित सुवेदीले समान १-१ विकेट हात पारे ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको प्रदेश १ २४ ओभरमा केवल ९० रनमा सिमित भयो । टोलीका अंकित सुवेदीले ६१ रनको अर्धशतकीय पारी खेल्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । सुदूरपश्चिमका शेर मल्लले ४, नरेन्द्र साउँदले ३ र कैलाश ऐरीले २ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्