रग्बीका अध्यक्ष घिसिङ सदस्य सचिवमा नियुक्त



काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्री परिषद्को बैठकले घिसिङलाई चार वर्षको लागि सदस्य सचिवमा नियुक्त गरेको हो । उनी नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्यसमेत हुन् । घिसिङले आज पद तथा गोपनियताको शपथ लिन सक्ने बताइएको छ ।

युवा तथा खेलकुदमन्त्री महेशराज गहतराजका अनुसार घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम सदस्यसचिवका लागि सिफारिस गरिएको थियो । शुक्रबार सम्मको समय दिएर मन्त्रालयले सदस्य सचिवको आवेदन माग गरेको थियो ।सदस्य सचिवको लागि ओलम्पियन दीपक विष्टसहित अच्युत लामिछाने, आरके विष्ट, रविराज कर्णिकार, ममता श्रेष्ठ, मानबहादुर गुरुङ, सुनील शाही, टंकलाल घिसिङ, विनोदकुमार यादव, भरत महर्जन, देवराज चौलागाईं, राजकुमार कार्की, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे छुम्बी लामा र सुनिल नकर्मी गरी १८ जनाले आवेदन दिएका थिए ।

राखेपका तत्कालीन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिकमा मन्त्री परिषद्ले बर्खास्त गरेको थियो । सिलवालले बर्खास्तविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । गत वर्ष खेलकुद विकास ऐन लागू भएपछि छनोट प्रक्रियाबाट रमेश सिलवाललाई तत्कालीन केपी ओली सरकारले सदस्य सचिव नियुक्त गरेको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार राखेप सदस्य सचिव खुला छनोटका आधारमा गर्नुपर्नेछ । सदस्य सचिवका लागि योग्यता र अनुभवको पाँच बुदाको प्रावधान राखिएका छन् । जसमा नेपाली नागरिक हुने पर्ने, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविधालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने, खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष उमेर पूरा भएको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्