नयाँ भेरियन्टले क्रिकेट रद्द



लन्डन, (एजेन्सी)  । 

जिम्बावेको हरारेमा चलिरहेको महिला विश्वकप क्रिकेट क्वालिफायर प्रतियोगिता रद्द गरिएको छ । हरारेमा कोभिडको नयाँ भेरियन्ट भेटिएपछि प्रतियोगिता रद्द भएको हो । बाँकी खेल नहुने भएपछि आईसीसीले प्राप्त नतिजा र प्रदर्शनको आधारमा छनोट हुने टिमको निर्णय गर्नुप¥यो । आईसीसीले बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजलाई छनोट भएको घोषणा गरेको हो ।

महिला वानडे विश्वकप क्रिकेटको आयोजना अर्को वर्ष ४ मार्चदेखि ३ अप्रिलसम्म हुनेछ । यसको लागि क्वालिफायर प्रतियोगिता खेलिरहेको थियो । ८ देशलाई प्रतियोगितामा स्थान प्राप्त हुनेमा ५ टिमले पहिल्यै छनोट भइसकेका छन्, जसमा आयोजक राष्ट्र न्युजिल्यान्ड, अस्टे«लिया, इंग्ल्यान्ड, भारत र दक्षिण अफ्रिका टिम हुन् । तीन टिम क्वालिफायर खेलेर छनोट हुनुपर्नेमा ती टिम पनि छनोट भइसकेपछि यसले पूर्णता पनि पाएको छ ।

हरारेमा प्रतियोगिता चलिरहँदा नै कोरोनाको छाँया परेको थियो । श्रीलंकाको महिला टिमकी तीन सदस्यमा कोरोना पोजिटिभ भेटिएको थियो । यसपछि टिका सबै खेलाडीलाई आइसोलेट गरिएको थियो । यी खेलाडीहरू बायोबबलमा थिए, तर पनि उनीहरूमा कोरोना पोजिटिभ पाइएको थियो ।

यस्तै, नेदरल्यान्डस्को पुरुष क्रिकेट टिमले दक्षिण अफ्रिकाको यात्रा बीचमै छोड्ने निर्णय लिएको छ । नेदरल्यान्डस्ले सेन्चुरियनमा पहिलो वानडे खेलेपछि यो निर्णय लिएको हो । तर, दक्षिण अफ्रिकाबाट हुने उडान धेरै जसो देशमा प्रवेश बन्द हुँदा डच टिम घर फर्कन सकिरहेको छैन । कोरोनाको नयाँ भेरिएन्टका कारण इंग्ल्यान्डले पनि दक्षिण अफ्रिकाबाट आउने सबै उडानलाई रद्द गरेको छ । दक्षिण अफ्रिकामा ‘ओमिक्रोन’ नामक कोरोनाको नयाँ भेरियन्ट भेटिएको हो, जसको संक्रमण निकै तीव्र गतिले बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्