आफिजले दिलाए मनाङलाई ३ अंक



 काठमाडौं  । 

निर्धारित समय सकिन ६ मिनेट बाँकी हुँदा ओलावाले आफिजले गोल गरेपछि मनाङ मस्र्याङदी क्लबले जित हात पार्न सफल भएको छ । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलमा मनाङलाई बराबरी नतिजाबाट आफिजले जोगाएर ३ अंक दिलाए । उनले खेलको ८४ औं मिनेटमा गरेको गोल निर्णायक साबित हुँदा मनाङले हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको हो ।

पूजन उपरकोटीले प्रहार गरेको कर्नरमा निशान लिम्बूले छोएको बलमा आफिजले हेड गर्दै गोलको दिशा दिएका हुन् । यसअघि, मनाङले पहिलो चरणमा जावलाखेल युथ क्लबलाई १–० ले नै हराएको थियो । यो सँगै मनाङको ६ अंक भएको छ । उता पराजित हिमालयन शेर्पाकोदुई खेलबाट १ अंक रहेको छ । हिमालयन शेर्पाले पहिलो चरणको खेलमा संकटा क्लबसँग १–१ बराबरी खेलेको थियो ।
पहिलो हाफमा दुबै टिमले गोलको अवसर खेर फालेका थिए ।

मनाङका लागि आफिज र विमल रानाले क्लोज रेन्जमा गोल गर्न सकेनन् । हिमालयनको लागि पनि पहिलो हाफ सकिन लाग्दा राम्रो अवसर सिर्जना भएको थियो । कप्तान विश्वास श्रेष्ठले दायाँ विंगबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा ठोक्किएको थियो । त्यही बल रिबाउन्ड हुँदा अलरिच सिवेले हेड गरेका थिए । तर, मनाङका गोलकिपर बिट भइसकेको अवस्थामा गोललाइनबाट दिनेश राजवंशीले बल क्लियर गरिदिँदा हिमालयनले अग्रता लिन चुकेको थियो ।

यसअघिको खेलमा च्यासल युथ क्लबले विभागीय टिम नेपाल एपीएफ क्लबलाई १–० ले हराएको थियो । च्यासलका लागि निर्णायक गोल रुमेश बर्तौलाले गरेका थिए । उनले ४९ औं मिनेटमा डी–बक्सको भित्र छेउबाट गरेको प्रहारलाई सीधै गोलमा परिणत गरेका थिए । उनको दर्शनीय प्रहारलाई एपीएफका गोलपिकर राजु योगीको लागि बचाउन कुनै मौका नै भएन ।

यो च्यासलको दुई खेलमा पहिलो जित हो । पहिलो चरणमा च्यासललाई थ्रीस्टार क्लबले ३–० ले हराएर नराम्रो शुरुवात गराएको थियो । योसँगै च्यासलले पनि ३ अंक जोडेको छ । उता एपीएफको लागि लगातार दोस्रो हार आत्मसात भएको छ । यो हारपछि एपीएफ अंकविहीन हुँदै पुछारमा रहेको छ । एपीएफ पहिलो चरणमा ब्रिगेड ब्वाइज क्लबसँग ३–२ ले हारेको थियो ।
आजको खेलः
जावलाखेल भर्सेस पुलिस (४ः४५ बजे)

प्रतिक्रिया दिनुहोस्