धवलागिरि र मालिकामा युवासँग महालक्ष्मी लाइफ बिमा जागरण अभियान



प्रताप बानियाँ, म्याग्दी ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बिमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । अभियानको क्रममा पश्चिम म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको विभिन्न स्थानमा बिमासम्बन्धी कार्यक्रम गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

धवलागिरि–७, सिबाङको हेम माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का ८३ जना विद्यार्थीहरूलाई बिमासम्बन्धी विभिन्न विषयहरूमा सहजीकरण गरिएको छ । उक्त कार्यक्रममा बिमा, वित्तीय साक्षरता, आर्थिक मितव्ययिता, युवासँग महालक्ष्मी लाइफ राष्ट्रिय जागरण अभियानको उद्देश्य र जानकारी, बचत तथा सुरक्षालगायत विषयहरूमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम विद्यालयको कक्षा ११/१२ संयोजक कुलराज आचार्यको अध्यक्षता, शिक्षक शिवप्रसाद शर्माको स्वागत र महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीद्वय रेविका विक र रुपेश सुनारले कार्यक्रमको समीक्षासहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी सिबाङको सिर्जना आमा समूह र स्थानीय युवाहरूसँग पनि महालक्ष्मी लाइफको बिमा जागरण राष्ट्रिय अभियानसम्बन्धी कार्यक्रम गरिएको छ । कार्यक्रममा आमा समूहका अध्यक्ष यामु रानाको अध्यक्षता र हेम मावि सिबाङका शिक्षक उमादेवी कँडेलले स्वागत गर्नुभएको थियो ।

त्यस्तै ताकमको किमचौरस्थित जनयुवा क्लबसँग गरिएको बिमा जागरण अभियानसम्बन्धी कार्यक्रमको क्लब अध्यक्ष अनिश भण्डारीको अध्यक्षता र सचिव निराजन भण्डारीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा धौलागिरि एकेडेमीका प्रिन्सिपल अजय तामाङले कार्यक्रममाथि समीक्षासहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसैबीच मालिका–५, देवीस्थानको भीम माविमा समेत बिमाको अभियानसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर घर्तीको अध्यक्षता, महालक्ष्मी इन्स्योरेन्सका एजेन्सी म्यानेजर एवं अभियानका जिल्ला सदस्य राजमति पुनले स्वागत र शिक्षक दिनेश ढकालले मन्तव्य राखेको कार्यक्रममा ६० जनाको उपस्थिति रहेको थियो ।

मालिका–६, दरबाङको जनप्रिय माविमा विद्यालयका सहायक प्रअ नगेन्द्रबहादुर खत्रीको अध्यक्षता र शिक्षक जगतकुमार सापकोटाको स्वागतमा सम्पन्न कार्यक्रममा १ सय १२ जनाको उपस्थिति थियो । सबै ठाउँमा सञ्चालित सचेतनामूलक बिमासम्बन्धी अभियानको विषयमा महालक्ष्मी इन्स्योरेन्सका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण तथा दरबाङ क्षेत्रका कर्मचारी सुनिल पुनले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा बिमा र बिमा व्यवसायलाई पार्ट टाइम बनाई वैकल्पिक आयआर्जनको माध्यम बनाएर अभिकर्ताको रूपमा काम गर्न सक्नेलगायत विभिन्न बिमासम्बन्धी विषयहरूमा सहजीकरण गरिएको थियो । कार्यक्रममा सहभागीहरूले बिमासम्बन्धी सचेतनामूलक कार्यक्रम स्थानीय स्तरमा नै सञ्चालन गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरेका थिए ।

शिक्षक, विद्यार्थी, महिला तथा युवाहरूलाई जानकारी गराउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ । युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बिमा जागरण अभियान गएको असोज २ गते काभ्रेको धुलिखेलबाट आरम्भ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्