बनेपा । सञ्चार क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै शब्दयात्रा प्रकाशनले कालोटोपी डटकमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ। शब्दयात्रा प्रकाशनले कात्तिक १४ गते शनिबार बनेपास्थित आफ्नै सभाकक्षमा आयोजना गरेको ‘शब्द साधना प्रस्तुतिकरण, विद्वत्वृत्ति, शब्दयात्रा सम्मान तथा पुस्तक सार्वजनिकीकरण समारोह’मा कालोटोपी डटकमलाई उक्त कदरपत्र प्रदान गरेको हो।

कार्यक्रममा कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह र बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक ऋषभ गौतम पनि ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’बाट सम्मानित हुनुभएको छ। सञ्चारमाध्यममार्फत सूचना तथा समाचार सम्प्रेषण र पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तीन सञ्चारमाध्यमका सम्पादकीय नेतृत्वलाई सम्मान गरिएको हो। यसैगरी, शब्दयात्रा प्रकाशनले डा. इन्दुल केसी, स्वयम्भू शाक्य, सुदीप अधिकारी, निर्मला श्रेष्ठ र नवराज दाहाल ‘उत्साही’लाई विद्वत्वृत्ति समर्पण गरेको छ। कार्यक्रममा लोकमान मास्केले विद्वत्वृत्ति तथा हरिगोपाल प्रधानाङ्गले सम्मानपत्र प्रदान गर्नुभएको थियो।
साहित्य, भाषा, संस्कृति तथा सञ्चारलगायतका क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। समारोहमा विष्णुप्रसाद आचार्य र सहदीप पलाञ्चोकेका कृतिहरू सार्वजनिक गरिएको थियो। यसै अवसरमा हरि मञ्जुश्रीको रचना तथा सङ्गीत र रश्मि अधिकारी हुमागाईंको स्वरमा तयार पारिएको शब्दयात्रा प्रकाशनको नयाँ गानसमेत सार्वजनिक गरिएको छ। उक्त गान खड्गप्रसाद सापकोटाले सार्वजनिक गर्नुभएको थियो।
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष कृष्णमणि कुईंकेलले गर्नुभएको थियो। साहित्य, भाषा, संस्कृति र समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान एवं पुरस्कृत गर्दै आएको शब्दयात्रा प्रकाशन स्थापना भएको १५ वर्ष पूरा भएको छ। यस अवधिमा संस्थाले सयौँ व्यक्ति तथा संस्थालाई सम्मान र पुरस्कृत गरिसकेको छ। आगामी दिनमा पनि सिर्जना, साहित्य, पत्रकारिता, भाषा, संस्कृति र सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थाहरूको सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिनुभएको छ।











प्रतिक्रिया