पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं ।

पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भएसँगै देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। यस्तै, तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

सोमबार पनि देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने पूर्वानुमान गरिएको छ।