पत्रकार धरपकडविरुद्ध मिडिया अलाइन्सको आपत्ति


काठमाडौँ, (नेस) ।

समाचार कक्षमै प्रवेश गरी पत्रकारमाथि गरिएको धरपकड र त्यसपछि पत्रकारहरूलाई प्रहरी कार्यालयमा बोलाइएको घटनाप्रति मिडिया अलाइन्स नेपालले गम्भीर आपत्ति जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको चासोका आधारमा साइबर ब्युरोले पत्रकारहरूलाई बोलाएको प्रहरी प्रवक्ताको स्पष्टीकरण र घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रधानमन्त्री कार्यालयको दाबीबीच देखिएको विरोधाभासले सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको जिकिर गर्दै मिडिया अलाइन्सले शनिवार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘सरकारका अलोकतान्त्रिक र असान्दर्भिक गतिविधिबाट सार्वजनिक बहस अन्यत्र मोड्न प्रधानमन्त्रीले भोलिपल्टै सामाजिक सञ्जालमार्फत अर्को विषय अघि सार्ने प्रवृत्तिले लोकतान्त्रिक शासनको मर्यादा कायम गर्न सक्दैन।’

स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ रहेको र सञ्चारगृहमा प्रहरी प्रवेश गर्ने, पत्रकारलाई त्रसित पार्ने र प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने कुनै पनि कार्य स्वीकार्य हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा सरकार आलोचनाबाट भाग्ने होइन, आलोचनालाई सुन्ने र प्रश्नको जवाफ दिने जिम्मेवारीबाट निर्देशित हुनुपर्नेमा जोड दिइएको छ ।

‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हक कुण्ठित गर्ने गतिविधिको कडा विरोध गर्दछ । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हस्तक्षेप नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गर्दछ’–विज्ञप्तिमा उल्लेख छ ।