विश्वकप छनोटमा नेपालको पहिलो जित



नेपाल समाचारपत्र, काठमाडौं । 

जारी आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोटमा नेपालले पहिलो जित हासिल गरेको छ ।मंगलबार भएको खेलमा नेपालले दक्षिण एसियाकै प्रतिद्वन्द्वी भुटानलाई ८ विकेटले सहजै हराएको हो ।

नेपालले भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य २ विकेट गुमाएर ८.३ ओभरमै प्राप्त ग¥यो । नेपालको जितमा इन्दु बर्माले सर्वाधिक १८ रन जोडिन् । त्यस्तै, सीता रानामगरले १७ रन, कप्तान रुविना क्षेत्री बेलबासेले १० रन र कविता जोशीले ८ रनको योगदान दिए ।इन्दु र सीताले पहिलो विकेटका लागि ४.२ ओभरमै ३७ रनको साझेदारी गरेर शानदार जिततर्फ अग्रसर गराए । सीता क्याच आउट भएपछि कप्तान रुविना क्रिजमा आइन् । तर उनी १ चौका प्रहार गरेर रनआउट भइन् । यसपछि इन्दु र कविताले जित दिलाए, जसमा कविताले टासीको लगातार २ बलमै चौका प्रहार गरेकी हुन् ।

यसअघि, आईसीसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर भुटानले पहिले ब्याटिङ गरेको थियो । भुटानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ६१ रन जोडेको थियो । टिमका लागि नगावांग चोडेनले सर्वाधिक १३ रन बनाइन् भने सोनाम पाल्डोनले ११ रनको योगदान दिएकी थिइन् । चोडेन र सोनमले ७ ओभरमा ३० रन जोडेर राम्रो शुरुवात दिएका थिए ।चोडेन आउट भएपछि भुटानको रन गतिमा नेपाली बलरले अंकुश लगाइदिए । पछिको १३ ओभरमा मात्र ३१ रन जोडेको थियो ।

चोडेनलाई नेपाली स्पिनर सीताले आउट गरेकी थिइन् । सीताले सोनामलाई पनि पभेलियन फर्काइन् भने डेचेन वांगमोलाई २ रनमा आफ्नै बलमा क्याच गरेकी थिइन् । नेपालको तर्फबाट सीताले सर्वाधिक ३ विकेट लिएकी थिइन् । यस्तै, करुणा भण्डारीले १ विकेट लिइन् भने दुई खेलाडी रनआउट भएका थिए ।

नेपालले शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न निकै कसरत गर्नुपर्ने भएको छ । नेपालले पहिलो खेलमा हङकङलाई जितको नतिजा सुम्पेको थियो । नेपालले आगामी तीनै खेल जित्नु आवश्यक छ । ती खेलमा बिहीबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ भने शुक्रबार मलेसियासँग खेल्नेछ । यस्तै, आइतबार घरेलु टिम यूएईसँग नेपालले खेल्नेछ । यूएईले खेलेको दुवै खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्