नेपोलीको अपराजित यात्रामा पूर्णविराम



रोम, (एजेन्सी) । 

जारी सिजनको इटालियन सिरी ए लिग फुटबलमा नेपोलीको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।आइतबार राति भएको खेलमा इन्टर मिलानले लिग लिडर नेपोलीको यो सिजनको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको हो । जारी इटालियन सिरी ए १३औं साताको खेलमा इन्टर मिलानले आफ्नो घरेलु मैदानमा पाहुना टोली नेपोलीमाथि ३–२ गोलअन्तरको जित निकालेको हो ।

मिलानले आफ्नो घरमा नेपोलीमाथि एक गोलले पछि परेको अवस्था उल्टाएर पुनरागमन जित निकालेको हो । पाहुना टोली नेपोलीले खेलको १७औं मिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो । सो गोल पिट्रो जिलिन्सकीले गरेका थिए । तर, त्यसपछि इन्टर मिलान उत्कृष्ट ढंगले खेलमा फर्कियो ।

मिलानका लागि २५औं मिनेटमा हाकान काल्होङ्लुले पेनाल्टीमार्फत् गोल गरेर खेल १–१ को बराबरीमा ल्याएका थिए । त्यसपछि ४४औं मिनेटमा इभान पेरिसिचले गोल गरेर पहिलो हाफमा मिलानलाई २–१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा मिलानले तेस्रो गोल थप्यो । खेलको ६१औं मिनेटमा लौटारो मार्टिनेजले गोल गर्दै मिलानलाई जितको बाटो देखाएका थिए ।

लगातार तीन गोल बेहोरेर दवाबमा परेको नेपोलीले खेलको ७८औं मिनेटमा दोस्रो गोल ग-यो । यसपटक ड्रिएस मार्टेन्सले गोल गर्दै खेल ३–२ बनाए । तर, त्यसपछि नेपोलीले थप गोल फर्काउन नसक्दा खेल मिलानले ३–२ ले जित्यो । यसअघि १२ खेल सकिँदा नेपोलीले एउटा पनि खेल हारेको थिएन । यो जितपछि इन्टर मिलानको १३ खेलपछि २८ अंक पुगेको छ । यता, पराजित नेपोली अझै पनि ३२ अंकका साथ लिगको शीर्ष स्थानमा नै छ ।

प्रतिक्रिया दिनुहोस्