सीओएएस लन टेनिस मंसिर अन्तिम साता



 काठमाडौं । 

नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा प्रथम सीओएएस राष्ट्रिय लन टेनिस प्रतियोगिता मंसिर २७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा खुलातर्फ ४, भेट्रानतर्फ ७ र इन्टर–गोभरमेन्टलतर्फ १ गरी जम्मा १२ स्पर्धामा खेल खेलाइने आयोजक केन्द्रका केन्द्रपति एवं महासेनानी मुनल बस्नेतले भद्रकालीस्थित सैनिक मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । १२ वटै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार राशी ७ लाख २९ हजार रुपैयाँ रहेको छ ।

पुरुष-महिला सिंगल्स र डबल्समा प्रतिस्पर्धा हुने खुला विधाको कुल पुरस्कार राशी ३ लाख ७० हजार रुपैयाँ रहेको छ । पुरुष÷महिला सिंगल्स विजेताले ५० हजार, उपविजेताले २५ हजार र तेश्रोले १५-१५ हजार नगद पुरस्कार पाउने छन् । पुरुष-महिला डबल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १०-१० हजारका दरले नगद पुरस्कार जित्ने छन् ।

भेट्रानमा ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स-डबल्समा खेल हुने छ । ६५ वर्षमाथि सिंगल्स स्पर्धा मात्र राखिएको छ । भेट्रानको जम्मा पुरस्कार राशी ३ लाख ७ हजार रुपैयाँ रहेको छ । त्यस्तै एक स्पर्धा पुरुष डबल्समा खेल हुने इन्टर गोभरमेन्टल विधाको जम्मा नगद पुरस्कार राशी ५२ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्