अन्ततः सोल्सायर बर्खास्त



लन्डन, (एजेन्सी)  । 

शनिबार वाटफोर्डमा ४–१ ले हारेपछि म्यानचेस्ट युनाइटेडले मेनेजर ओले गनार सोल्सायरलाई बर्खास्त गरेको छ ।क्लबले पछिल्ला सात प्रिमियर लिग खेलमध्ये एक खेलमा मात्रै जित हात पारेको छ । यो खराब नतिजाले क्लब शीर्ष स्थान चेल्सी भन्दा १२ अंकले पछि पर्दै अंकतालिकाको सातौं स्थानमा रहेको छ ।

यो नमीठो नतिजापछि सोल्सायर बर्खास्त हुन पुगे । युनाइटेडले क्लबमा रियल मेड्रिडका पूर्व मेनेजर जिनेदिन जिदानलाई ल्याउन कसरत गरिरहेको पनि बताइएको छ ।सोल्सायरको स्थानमा हालको लागि पहिलो टिम प्रशिक्षक माइकल क्यारिकलाई जिम्मा दिइएको छ । २०१८ मा क्लबमा मेनेजर बनेका सोल्सायरको जागिर धरापमा परिरहँदा युनाइटेडले पछिल्ला खेलमा नराम्रो हार बेहोरेको थियो । क्लब २४ अक्टोबरमा लिभरपुलद्वारा ५–० ले र नोभेम्बर ६ मा म्यानचेस्टर सिटीद्वारा २–० ले हारिएको थियो ।

युनाइटेडले यस सिजनमा १ सय १० मिलियन पाउन्ड खर्च गरेको छ । योसमेत गरी सोल्सायर प्रशिक्षक हुँदा क्लबले ४ सय मिलियन भन्दा बढी रकम खर्च गरेको पनि क्लबले जनायो । उनले जाडोन सान्चो, राफायल भरान र क्रिस्टियानो रोनाल्डोलाई यस सिजनमा ल्याए भने यसअघि हेरी मेगायर, आरोन वान, बु्रनो फर्नान्डेज र डोनी भानलाई क्लबमा ल्याएका थिए ।

प्रिमियर लिगको १२ चरण समाप्त हुँदा ६ जना मेनेजरको जागिर गएको छ । यस क्रममा सोल्सायर जारी सिजनमा बर्खास्त हुने छैटो मेनजर हुन् । जबकी गत सिजनमा मात्र ४ जना मेनेजर बर्खास्त भएका थिए । तर, यो सिजनमा वाटफोर्डका सिस्को मुनोज, न्युक्यासलका स्टिभ ब्रुस, टोटनहामका नुनो स्पिरिटो सान्टो, नर्विचका डेनियल फार्के, एस्टन भिल्लाका डिन स्मिथ र म्यानचेस्टर युनाइटेडका ओले गनार सोल्सायर बर्खास्त भए ।

प्रतिक्रिया दिनुहोस्